यौन शोषण मुद्दामा राष्ट्रपतिलाई पायलको चिठ्ठी


केही दिनअघि बलिउड निर्देशक एवं निर्माता अनुराग कास्यपलाई यौन उत्पीडनको आरोप लगाएकी बलिउड अभिनेत्री पायल घोषले यस मामलामा दखल दिन अनुरोध गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई एक चिठ्ठी लेखेकी छिन्।

सोमबार उक्त चिठ्ठीको प्रति आप्mनो ट्विटर अकाउन्टमा पोस्ट गर्दै अनुरागविरुद्धको केसको कारबाही सही तरिकाले भइनरहेको जनाएकी छन्।

उक्त चिठ्ठीमा पायलले लेखेकी छिन्– ‘म एक पीडित हुँ र मैले वर्सोवा पुलिस स्टेसनमा बलात्कारको केस दर्ता गराएको थिएँ। आरोपीले मलाई फिल्म क्षेत्रमा काम दिने भन्दै आप्mनो घरमा बोलाएका थिए। त्यसपछि उनले ममाथि जघन्य अपराध गरे।

मैले २२ सेप्टेम्बरमा केस दर्ता गराको थिएँ। तर, अहिलेसम्म जाँचमा कुनै प्रगति भएको छैन। आरोपी धेरै नै प्रभावशाली व्यक्ति हुन्। त्यस कारण प्रहरी अधिकारीले उनलाई गिरप्mतार गर्न सकेका छैनन्। मैले दिएको केसमा कुनै गरिब व्यक्ति हुन्थ्यो भने प्रहरीले तुरुन्तै गिरप्mतार गरिसक्थ्यो।

तर, ती व्यक्ति प्रभावशाली भएकाले खुलेआम घुमिरहेका छन्। मचाहिँ भड्किरहेको छु।’ पायलले चिठ्ठीमा लेखेकी छिन्– ‘एक पीडित हुनाले म न्यायको ढोका ढकढक्याइरहेको छु। मलाई न्याय दिलाउन निवेदन गर्दछु।’

यहीबीच केही दिनअघि अभिनेत्री ऋचा चड्ढाले आप्mनो मानहानी भएको भन्दै पायलविरुद्ध मुद्दा दायर गरेकोमा पायलको वकिलले सोमबार हाइकोर्टमा यसको जवाफ पेस गरेका छन्।

पायलको वकिलका अनुसार पायल खास सर्तमा ऋचासँग माफी माग्न तयार रहेको बताए पनि पायलले भने यो कुरा ट्विटरमार्फत अस्वीकार गरेकी छिन्।

पायलले अनुरागले भनेको जुनसुकै कुरा मान्न तयार भएको आरोप लगाउँदै केही नायिकासहित ऋचा चड्ढाको नाम लिएपछि ऋचाले पायलविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन्।