प्रदेश राजधानी व्यवस्थापनको तयारी शुरू


नरेन्द्र केसी, दाङ ।

प्रदेशबाट प्रदेशको नाम र राजधानी टुंगो लगाएको लुम्बिनी प्रदेशले दाङको देउखुरी क्षेत्रमा राजधानी व्यवस्थापनका लागि तयारी थालेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा पहिलो कार्यालयका रूपमा पूर्वाधार विकास प्राधिकरण स्थापना गरी राजधानी व्यवस्थाको काम थालिने भएको छ ।

प्राधिकरणले राजधानी क्षेत्रको स्थलगत अवलोकन र कार्यालय राख्ने ठाउँको बारेमा जानकारी लिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँसहित प्राविधिकको टोलीले स्थलगत अवलोकन गरी स्थानीय सरोकारवालासँग छलफल पनि गरेको छ ।

राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालय परिसर, बराखुटी, लालमटिया, घण्टदेव, पाखापानी, शितगंगा नगरपालिकाको लापे, सातमारा, गढवा गाउँपालिकाको कालाकाटे पश्चिम क्षेत्रको अवलोकन गरेको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, शितगंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारी र सो क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजीत थारुले पुर्वाधार विकास प्राधिकरण सहितको टोलीलाई सम्भावित क्षेत्रको भूगोलबारे जानकारी गराउनुभएको थियो ।

शुरूमा प्रदेश पूर्वाधार प्राधिकरणको कार्यालय राख्ने तयारी गरिएको र त्यसपछि गुरुयोजनाको आधारमा थप पूर्वाधार निर्माणमा अघि बढ्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैयाँले जानकारी दिनुभयो । अहिले प्राधिकरणको कार्यालयका लागि घर खोजी भइरहेको छ ।

प्रशासनिक क्षेत्र, आवास क्षेत्रलगायत छुट्याएर व्यवस्थित गुरुयोजनासहित सुन्दर शहरको कल्पना गरिएको पनि उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले यो वर्ष गुरुयोजना निर्माण गर्ने भएको छ । त्यसका लागि अन्य देशका नदी क्षेत्रका शहरको समेत अध्ययन गरेका एजेन्सी तथा प्राविधिहरूलाई डीपीआरको जिम्मा दिने तयारी गरिएको छ ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा नमुना शहर बसाउन जग्गा विकास कार्यक्रम (ल्यान्ड पुलिङ)को अवधारणा अनुसार अघि बढ्ने तयारी गरिएको छ । ऐलानी जग्गाबाट प्रशासनिक भवनहरू बनाउँदै जाने र गुरुयोजनाअनुसार जग्गा विकास कार्यक्रम सञ्चालन गरेर नमुना शहर बनाउने योजना रहेको प्राधिकरण प्रमुख मजगैयाँले जानकारी दिनुभयो ।

प्रदेश राजधानी राप्ती गाउँपालिका, गढवा गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिले आगटेको÷चर्चेको राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका (देउखुरी) तोकिएपछि सोही क्षेत्रमा सम्भाव्यता अध्ययन थालिएको हो ।

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राप्ती उपत्यका देउखुरीको जग्गाको लगत तत्काल संकलन गरेर पठाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको दाङ र अर्घाखाँचीका पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा मालपोत कार्यालयका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यो महिनाभित्र प्रदेश राजधानी राप्ती उपत्यकाको जग्गाको लगत पठाउन निर्देशन दिनुभएको हो ।