कोरोनाले स्थानीय तहको सेवा प्रभावित


सुनील महर्जन, काठमाडौं

कोरोना भाइरसबाट संक्रमित स्थानीय तहका जनप्रतिनिधिको संख्या बढ्दै गएपछि स्थानीय तहको सेवा प्रभावित भएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघका अनुसार हालसम्म देशभरका गाउँपालिकाहरुका १ सय ५ जनप्रतिनिधि संक्रमित भएका छन् । गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरु नै २९ जनाभन्दा बढी संक्रमण भएको महासंघले जनाएको छ ।

कोरोना संक्रमणको सख्ंया बढ्नेबित्तिकै यसअघि नै धमाधम नगरपालिकाको विशेष क्षेत्र वा स्थान सिल गर्न थालेको स्थानीय तहले अब जनप्रतिनिधिहरु संक्रमित हुन थालेपछि नगरपालिकाको कार्यालय नै बन्द गर्न थालेका छन् ।

त्यसै गरी नेपाल नगरपालिका संघले पनि नगरपालिका प्रमुख र उपप्रमुख गरी कोरोना संक्रमितहरुको संख्या सय नाघेको जनाएको छ । ‘कोरोना संक्रमणले गर्दा नगरपालिकाको सेवा प्रवाह प्रभावित हुने, नगरपालिका क्षेत्र सिल गर्ने क्रम भइरहेको छ।’ –नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो ।

पछिल्लोपटक संक्रमितहरुको संख्या हरेक दिन बढिरहेको उल्लेख गर्दै नगरपालिका र वडामा अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको पनि धुलिखेल नगरपालिकाका मेयरसमेत रहनुभएका संघका अध्यक्ष ब्याञ्जुले जानकारी दिनुभयो ।

कार्यालय खुलेका नगरपालिकाहरुमा पनि कर्मचारीहरुमा कोरोना संक्रमण हुन थालेपछि अधिकांश कर्मचारीहरु पनि कन्ट्रयाक्ट टे«सिङमा पर्ने गरेको सेवा प्रवाह भएको सूचनाहरु आइरहेको पनि संघले जनाएको छ । कोरोना महामारीले गर्दा सेवा प्रभावित मात्र नभई सर्वसाधारणको असन्तुष्टि र गुनासो शिकार पनि स्थानीय तहहरु हुनुपरेको पनि मेयर ब्याञ्जुले बताउनुभयो ।

मंगलबार मात्रै पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्यालमा कोरोना पोजिटिभ देखिएको थियो । प्रमुखलाई संक्रमण देखिएपछि मंगलबारदेखि नगरपालिकाका सबै सेवा बन्द गरिएको छ ।

उपत्यकाभित्र संक्रमण बढ्दै गएपछि भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले पुनः निषेधाज्ञा लागू गर्नुपर्नेमा जोड दिनुभएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकमा पनि निषेधाज्ञा गर्न सिफारिस गरेको थियो ।

ललितपुरको गोदावरी नगरपालिकाका विपद् र स्वास्थ्यबाहेकका सेवाहरु पनि बन्द रहेका छन् । त्यसै गरी ललितपुर महानगरपालिकामा कर्मचारी क्वारेन्टाइन र आइसोलेसनसँगै वडा नं १६, वडा नं १८, वडा नं १९, वडा नं २२ बन्द गरिएको छ भने अन्य वडाहरु दैनिक दुई घण्टा मात्र खोलिएको छ ।

कोरोना संक्रमणको संख्या अझ बढ्ने अवस्था रहेको बताउँदै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले अब कसरी अघि बढ्ने भन्नेमा संघ र स्थानीय तहहरुबीच नै अन्योल रहेको धारणा राख्नुभयो ।

‘कुनै मन्त्री वा स्थानीय तहले लकडाउन वा निषेधाज्ञा लागू गर्नुप¥यो भनेर भन्छन् त कुनै लकडाउनले अर्थतन्त्र धान्न नसकिने कुरा गर्छन्’, उहाँले भन्नुभयो– ‘यस्तो बेला सबै जिम्मेवार भएर काम गर्नुपर्ने हो ।’