जग्गा हेर्ने बहानामा लुटपाट, लुटपाटपछि हत्या, तीन पक्राउ


काठमाडौं, (नेस)

महानगरीय अपराध महाशाखाले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गर्ने तीन जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

हत्या आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ लेखर्क घर भई थली बस्ने शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोककै चौतारा बतासे नगरपालिका–२ घर भई बौद्ध बस्ने रमेश तामाङ (ज्वाला तामाङ) र रामेछापको धोबी गाउँपालिका–५ घर भई बौद्ध बस्ने प्रेम तामाङ रहेका छन् ।

उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी महानगरीय अपराध महाशाखाले मंगलबार सार्वजनिक गरेको छ ।

असोज २१ गते अपराह्न मृतक योञ्जनले सञ्चालन गरेको पसलमा आई उनीहरुले मादक पदार्थ सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्दै जग्गा हेर्न भनी पसलभन्दा एक किलोमिटर पर विडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरी साथमा रहेको सुनको ब्रासलेट तथा मोबाइल लुटेर भागेका थिए ।

घाइते अवस्थामा फेला परेका योञ्जनको उपचारका क्रममा ग्रिनसिटी अस्पताल मृत्यु भएको थियो । अनुसन्धानका क्रममा शेर्पा भन्ने कामी लामाले मृतकसँग रकम लिन बाँकी रहेको र मृतककले रकम दिन आनाकानी गरेका कारण उनलाई कुटपिट गरेर रकम असुल्न अन्य दुई सहयोगी बोलाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

एकान्तमा रहेको धानखेतमा उनीहरुले योञ्जनलाई अनुहार, छाती र पेटमा हात र खुट्टाले कुटपिट गरी घाइते बनाई निजको साथमा रहेको सुनको ब्रासलेट तथा मोबाइल लुटी फरार भएको महाशाखाले जनाएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको बा९६प ७११४ नम्बरको मोटरसाइकल, मृतकले प्रयोग गरेको मोबाइल, मृतकको सुन बिक्रीबाट प्राप्त १ लाख ५५ हजारमध्ये ५४ हजार ६ सय र गालेको सुन एक तोला बरामद गरेको छ ।