घरजग्गा मिलाइदिन्छु भन्दै ठगी गर्ने ८ पक्राउ

0
Shares

पोखरामा सुकुम्बासी गठन गरी घरजग्गा मिलाइदिन्छु भन्दै रकम असुल्ने ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
अव्यवस्थित सुकुम्बासी समाधान आयोग गण्डकी प्रदेश कार्यसमिति पदाधिकारी भन्दै स्थानीयलाई विश्वास दिलाई तत्काल अमिन लगेर नापजाँच गराउने भन्दै रकम असुल्दै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
ज्यानमारा उद्योगमा कास्की कारागारमा ४ वर्ष कैद सजाय भोगिसकेका हीराबहादुर तामाङ मुख्य नाइके रहेको प्रहरीले बताएको छ ।

३९ वर्षे तामाङ कास्की माछापुच्छे्र घरभई पोखरा–५ प्रस्याङ्मा डेरा गर्दै आइरहेका थिए । त्यस्तै पक्राउ पर्नेमा ३० वर्षका रमेश कुमार परियार, ३५ वर्षका ओमबहादुर सुनार, ३७ वर्षकी रीता विश्वकर्मा, २२ वर्षकी सोनु परियार, २७ वर्षकी सीता सुनार, ५० वर्षका हर्कबहादुर विक, २४ वर्षका मौसम सदाशंकर रहेका छन् ।

उनीहरुको साथबाट विभिन्न समयमा बैठक बसेको रजिस्टर १ थान, नगद उठाएको रजिस्टर १ थान, नगदी रसिदको प्याड तथा नगद रसिद उठाएको अर्धकट्टि रसिदहरु, नगद, विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी तथा फोटो, सुकुम्बासी आयोग गठन गरिएको पत्र १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवनकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

‘उनीहरुले पोखरा–१४ मा ३ सय रोपनी जग्गा मिलाइदिने बाहनामा आर्थिक सहयोग स्वरुप प्रतिव्यक्ति ७ हजारका दरले पैसा उठाएको खुल्न आएको छ । पक्राउ परेका व्यक्तिहरलाई म्याद थप गरी थप अनुसन्धान गर्ने प्रहरी प्रमुख श्रेष्ठले भन्नुभयो ।

उनीहरुबाट नगद १ लाख ६१ हजार रुपियाँसमेत बरामद गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट २३ जनाबाट रकम असुलेको खुल्न आएको छ । सुकुमवासी जग्गा मिलाउने र घर समेत बनाउने भन्दै शुरुमा आर्थिक सहयोग गर्न रसिदको अर्धकट्टि समेत दिने गरेका थिए । उनीहरुले नक्कली सुकुमवासी संघ नै गठन गरी रकम असुल्ने काम गरेको अनुसन्धानबाट खुल्न आएको छ प्रहरीले जनाएको छ ।