सिद्धार्थ राजमार्ग दैनिक तीन घण्टा बन्द

0
Shares

नेपाल समाचारपत्र, पाल्पा
असोजको पहिलो हप्ता र अघिल्ला महिनाहरूमा पनि भारी वर्षाका कारण बिग्रेको सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड मर्मतका लागि दैनिक तीन घण्टा बन्द हुदै आएको छ ।
राजमार्गको बर्तुङदेखि चिडियाखोलासम्म विभिन्न स्थानमा गएको पहिरो हटाउनका लागि यो खण्डमा सवारी आवागमन वन्द गरी पहिरो पन्छाउने काम भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ । पहिरो हटाउनका लागि सोमबारदेखि बिहीबारसम्म दैनिक तीन घण्टा सडकमा सवारी आवागमन बन्द गरिएको हो । बिहान ६ बजेदेखि ९ बजेसम्म सवारी आवागमन बन्द गरेर पहिरो हटाउन थालिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
सोमबार बिहान राजमार्गअन्तर्गत तिनाउको अर्घाछाप र गौडेपुलमा पहिरो हटाउने काम गरिएको छ । बिहान ९ बजेपछि भने सवारी आवागमन खुला गरिएको र रोकिएका सवारी गन्तव्यतर्फ लागेको पाल्पाका ट्राफिक प्रमुख पृथ्वीनारायण काफ्लेले बताउनुभयो । अविरल वर्षाका कारण राजमार्गको दर्जनौं ठाउँमा पहिरो गएको थियो ।