सरकारी कार्यालय नै संक्रमण फैलाउन तल्लीन

0
Shares

कृष्णउदास खनाल, हेटौंडा
नागरिकको अत्यधिक चाप रहने मकवानपुरका सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीड बढेसँगै कोरोना संक्रमणको जोखिमसमेत बढेको छ । जिल्ला मालपोत कार्यालय मकवानुरमा न्यूनतम सुरक्षा सामग्री नअपनाइएको देख्दा सरकारी कार्यालय नै कोभिड–१९ फैलाउन लागिपरेको भान हुन्छ ।
जिल्ला मालपोत कार्यालयमा दैनिक सयौं संख्यामा नागरिक सेवा लिनका लागि आउने गरे पनि सामाजिक दूूरी र मास्क अनिवार्य नहुँदा मालपोतबाट नै कोरोनाको जोखिम उच्च देखिएको स्वयं सेवाग्राहीले नै बताएका छन् । जिल्ला मालपोत कार्यालय मकवानपुरले हात धुनेसम्मको व्यवस्था गरेको भए पनि त्यसतर्फ नागरिकको खासै चासो गएको देखिँदैन । कार्यालयले अन्य कुनै कोरोनाबाट आम नागरिकका लागि जोगाउनका लागि कुनै उपाय अवलम्बन नगरेको हेटौंडा–७ का सेवाग्राही रमेश पौडेलले गुनासो गर्नुभयो । राजस्व लिने राज्यको अखडाको चाला हेर्दा उसैका कारण गाउँ–गाउँमा संक्रमण विस्तार हुने अवस्था आउन सक्ने उहाँको कथन छ ।
मालपोत कार्यालय मकवानपुरका प्रमुख वासुदेव खतिवडाले भने कोरोनाबाट जोगाउनका लागि कार्यालयले उच्च सावधानी अपनाएको दाबी गर्नुभयो । तर, कार्यालय नै साँघुरो ठाउँमा रहेका कारण भने जसरी सेवा लिन र मापदण्ड पूरै प्रयोगमा ल्याउन नसकिएको उहाँ बताउनुहुन्छ । कार्यालयमा प्रवेश गर्नेलाई मास्क अनिवार्य लगाउन भनिएको दाबी गर्ने उहाँको कार्यकक्षमा पुग्दा उहाँ आफैं खल्तीमा मास्क राखेर सेवाग्राहहरूलाई सेवा दिइरहनुभएको थियो ।
यसो किन गर्नुभएको भन्दा लगातार मास्क लगाउँदा अप्ठेरो भएको तर्क थियो खतिवडाको । मालपोत कार्यालयमा कर्मचारीले थोरै सावधानी अपनाएको जस्तो देखिएपछि सेवाग्राही भने ठेलमठेल गरेर सेवा लिइरहेका थिए । मकवानपुरमा हाल दैनिक ५० को संख्यामा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ । नागरिकको चाप रहने सरकारी कार्यालयहरूमा विशेष सावधानी नअनाए स्थिति भयाभह हुन सक्ने पटक–पटक स्वास्थ्य मन्त्रालयले चेतावनी दिँदै आए पनि मकवानपुरमा भने कार्यान्वयन फितलो देखिएको छ । .