एनएमबि बैंक र टेन्सेन्ट होल्डिंग्स बीच सम्झौता


काठमाडौ । एनएमबि बैंकले चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसंग सम्झौता गरी उक्त कम्पनीको विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गरेको छ ।
सो बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्र्ने देशको पहिलो र एक मात्र बैंक रहेको छ ।
टेन्सेन्ट होल्डिंग्ससंगको उक्त साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्ने छ ।
१दशमलव १७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा मध्ये एक विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसंग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक भएको बताइएको छ ।
नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको योगदान उल्लेखनीय रहेको छ । संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनीय रहेको छ । देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई यस बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न बैक सक्षम रहेको दावी गरेको छ ।