दीपेन्द्र शर्मा, सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गर्नुभएको छ ।
शाहलाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री शाहीले सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको छ । शाहको कामकारबाही उचित नभएको भन्दै मुख्यमन्त्री शाहीले शाहलाई पदमुक्त गरेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री शाहीले प्रदेश सभादलको विधानको धारा (७) अनुसार पदमुक्त गरिएको र हालसम्म प्रमुख सचेतकको हैसियतले शाहले गरेको कामका लागि धन्यवाद दिनुभएको छ । पदमुक्त हुनुभएका शाह पूर्वएमालेका हुनुहुन्छ भने नेपाली पूर्वमाओवादीका हुनुहुन्छ । आइतबार सत्तापक्षकै सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णलीमा विवाद चुलिएको हो ।
यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा कर्णाली प्रदेशको संसदीय दलमा आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कर्णालीमा उत्पन्न राजनीतिक तरंग बालुवाटार र खुमलटारसम्म पुगेको छ । नेकपा कर्णाली प्रदेशमा चुलिएको विवाद झन् उग्र हुने देखिएको छ ।
मुख्यमन्त्री शाहीविरुद्ध आइतबार दलका बहुमत सांसदहरुले अविश्वासको प्रस्ताव दलमा दर्ता गरेपछि प्रमुख सचेतक शाहले मंगलबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउनुभएको छ । तर शाहले बोलाउनुभएको बैठक बस्न नपाउँदै मुख्यमन्त्री शाहीले शाहलाई पदमुक्त गरेर सांसद सीता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको छ ।
शाहीले नियुक्त गरेको प्रमुख सचेतक नेपालीले कात्तिक ७ गते १० बजे बैठक बोलाउनुभएको छ । यसैबीच पदमुक्त गरिएका प्रमुख सचेतक गुलाबजंग शाहले प्रदेश सभादलको विधानअनुसार दलको बैठक राख्ने र यसलाई टुंगोमा पु¥याउने जिम्मेवारी आफ्नो काँधमा आएकाले तत्काल समस्याको समधान गर्ने बताउनुभयो ।
ब्याकडेटमा पत्र तयार गरेर जो गर्न खोजिएको छ त्यो गलत भएको भन्दै शाहले बहुमत सांसदको हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव दर्ता भएकाले पछाडि आफूलाई हटाएको पत्र बाहिर ल्याउनु विधि सम्मत नभएको बताउनुभयो । बैठक नरोकिने र आफ्नै अध्यक्षतामा बस्ने शाहको भनाइ छ ।
प्रतिक्रिया