काठमाडौंबाट बस चढेर गाउँ जाँदै कोरोना


नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो पटक उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर मात्र कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ ।

देशभरकै सबैभन्दा बढी कोरोना संक्रमितको संख्या उपत्यका काठमाडौंमा देखिएको छ । उपत्यका मात्र हालसम्म १ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमितको संख्या उपत्यकामा बढिरहेका बेला नेपालीको प्रमुख चाड दशैं मान्न काठमाडौं छोड्ने क्रम पनि बढेको छ ।

चाडबाडका बेला एक ठाउँबाट अर्को ठाउँ जाने र आफन्तसँग भेटघाट बढी हुने गरेको छ । काठमाडौंमा रहेका आइसोलेसन वार्डहरू भरिँदै गएका छन् ।

संक्रमणको दर बढ्ने क्रम तीव्र रहेको अवस्थामा सर्वसाधारणमा त्रास बढदै गएको छ । सरकारले जारी गरेका मापदण्ड पालना गरेर अघि बढ्नुपर्ने अवस्थामा बजार क्षेत्रमा भीडभाड र सार्वजनिक यातायात पनि कोचाकोच हुने क्रम बढदै गएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघिसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस वर्षको दशैं जहाँ जुन अवस्थामा छौं, त्यहीं मनाउन आग्रह गर्दै आउनुभएको छ । तर नागरिकहरू धमाधम काठमाडौं छाड्ने क्रम बढिरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले असोज १ गतेदेखि हालसम्म ४ लाख ५४ हजार ४ सय ११ जना यात्रु काठमाडौं बाहिरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘उपत्यका भित्रिनेभन्दा बाहिरिने संख्या बढ्दै गएको छ, अबको कही दिनपछि झन् बढने अनुमान गरेका छौं ।’

लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले स्वास्थ्य मापदण्ड पूरा गरेको बताउँदै ठाउँठाउँमा ट्राफिक प्रहरीले चेकजाँचलाई समेत कडाइ गरेको बताउनुभयो ।

प्रवक्ता यादवले असोज १ देखि २५ गतेसम्म उपत्यका काठमाडौंबाट १ लाख ७ हजार ३ सय ५३ सवारीसाधन बाहिरिएको बताउनुभयो ।

‘सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने अनिवार्य नै गरिएको छ, उपत्यकाभित्र केही सवारी साधनले बढी यात्रु बोकेको गुनासो आएको छ, लामो दूरीमा चल्ने यातायातले मापदण्ड पूरा गरेका छन्।’ –यादवले भन्नुभयो ।

यातायात व्यवस्था विभागले पनि भाडा र स्वाथ्य मापदण्ड पालना भए नभएको विषयमा अनुगमन गरिरहेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सरकारले यात्रुहरू मारमा नपरून् भनेर नियमितरूपमा अनुगमन गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘विभागबाट दैनिकरूपमा चेकजाँच भइरहेको छ, मापदण्ड पालना नगर्ने र तोकिएभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गर्छाैं ।’