ठगी रोक्न सिभिल ट्राफिक परिचालन


नेपाल समाचारपत्र, काठमाडौं

नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठजस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई लिएर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ उक्त योजना लागू गरेको महाशाखाले जनाएको छ ।

उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले यात्राका क्रममा कसैलाई केही समस्या भए १०३ मा फोन गर्नसमेत आग्रह गर्नुभएको छ ।

ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओरालिदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी चनाखो भएको उहाँले दाबी गर्नुभयो ।

टिकट काउन्टरमा विशेष निगरानी
भीडभाड हुने स्थल र टिकट काउन्टरमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न महाशाखामा रहेको पीडित सहायता इकाइबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी गर्ने महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।

बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशालालगायत टिकट काउन्टर भएका ठाउँमा सादा पोसाकमै प्रहरी परिचालन गरी टिकट काउन्टरमा विशेष निगरानी गरिने प्रवक्ता यादवले बताउनुभयो ।

सादा पोसाकका ट्राफिक प्रहरीले बढी भाडा लिई टिकट काट्ने, नक्कली टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्नेछ भने भाडाका बसहरूमा चढी तोकिएको मूल्यअनुसार टिकट लिएको छ, छैन चेकजाँच पनि गर्ने भएको छ ।

यसका साथै टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

प्रविधिबाट निगरानी
लामो दूरीका भाडाका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भएनभएको प्रविधिको माध्यमबाट निगरानी गर्ने व्यवस्था ट्राफिक प्रहरीले मिलाएको छ । २ जना चालक भए–नभएको ट्राफिक प्रहरीको ट्राफिक कम्युनिकेसन एप्सबाट हेर्न र नियमअनुसार नभए कारबाही गरिने प्रवक्ता यादवले बताउनुभयो ।

दैनिक सरप्राइज चेकिङ
महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधनमा घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष चेकजाँचको व्यवस्था गर्ने भएको छ ।
उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सवारी साधनहरुको मापसेसहितको सम्पूर्ण चेकजाँच हुने महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरेर विशेष जाँचको गर्ने भएको छ ।

भीडभाड क्षेत्रमा थप प्रहरी परिचालन
महाशाखाले उपत्यका भित्रिने नाका, व्यापारिक क्षेत्र तथा बसपार्क क्षेत्रमा थप जनशक्ति परिचालन गर्ने भएको छ ।
एसएसपी ढकालका अनुसार १ सय ७२ स्थानमा दैनिक नियमित ड्युटीका लागि ९ सय जनशक्ति परिचालन भइरहेको छ । चाडपर्वको समयमा अतिरिक्त थप १ सय ५० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

१४ स्थानमा यात्रु सहायता कक्ष
काठमाडौं उपत्यकाभित्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै १४ वटा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालमा ल्याइने महाशाखाका प्रवक्ता यादवले जानकारी दिनुभयो । यात्रुहरुको गुनासो सूक्ष्मरूपमा मनन गरी तत्काल सम्बोधन गर्न नागरिक कक्ष राखिने उहाँले बताउनुभयो ।

उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहने भएका छन् ।