सामूहिक प्रयास र सचेतनाबाट कोरोनालाई जित्न सकिन्छ : मुख्यमन्त्री राई

0
Shares

विराटनगर । विराटनगरको पञ्चमुखी चोकस्थित विराट समुदायिक भवनमा कोभिड–१९ आइसोलेशन कक्ष तयार गरिएको छ । विराटनगर महानगरपालिका १२ मा रहेको सो भवनमा ३० श्ययाको कक्ष तयार पारिएको समाजसेवी भविष्य श्रेष्ठले जानकारी दिनुभयो । घर बस्न नसक्ने अवस्थामा रहेका कोरोनाका बिरामीलाई आइसोलेशनमा निःशुल्क रहने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

धेरै दिनदेखि बन्द रहेको सो भवनलाई कोरोना उपचारमा सहयोग पुग्ने उद्देश्यले लायन्स क्लव इन्टरनेशनलको आर्थिक सहयोगमा आइसोलेशन निर्माण गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भवनको आज शुभारम्भ गर्दै विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले कुनै देशलाई अछुतो नराखेको बताउनुभयो । उहाँले कोरोनाले धनि गरिब सबै वर्गलाई चपेटोमा पारेको चर्चा गर्दै कोरोनालाई जित्न सबै मिल्नुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले नवनिर्मित आइसोलेशनलाई व्यवस्थित गर्न चिकित्सक तथा भेन्टिलेटर सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले विराटनगरमा एक हजार श्यया क्षमताको आइशोलेशनको आवश्यकतामा रहको र होम आइसोलशन भन्दा संस्थागत आइसोलेशनको आवश्यकता औल्याउनुभयो । मुख्यमन्त्री राईले आफू बसिरहेकै स्थानमा चाडपर्व मनाइदिन सबैलाई आग्रह गर्नुभयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरसको अन्त्य कहिले हुने भन्ने अहिले नै भन्न सक्ने अवस्था नरहेको हुँदा सामूहिक प्रयास र सचेतनाबाट कोरोनालाई नियन्त्रण गर्न सकिन्छ भन्नुभयो ।