आजबाट लामो रुटका बस सञ्चालन हुने


काठमाडौं, (नेस)

आज बिहीबार असोज १ गतेदेखि मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । व्यवसायीले झन्डै ६ महिनादेखि थन्किएका सवारीसाधन सञ्चालनमा ल्याउन थालेका हुन् ।

तयारीस्वरुप यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले आज बिहीबारबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ ।

कार्यदलले विज्ञप्ति जारी गर्दै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ । चालक, सहचालकले मास्क, पन्जा, सेनिटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्यरुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लंदा र खाजा खाँदा भीड नगर्न भनिएको छ ।

कार्यदलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर बस सञ्चालनको प्रस्ताव बुझाएको थियो । सो अवसरमा मन्त्री नेम्वाङलले आवश्यक सबै स्वास्थ्य सुरक्षा अपनाएर मात्रै बस सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवामा जान आग्रह गर्नुभयो ।

मन्त्री नेम्वाङले यससम्बन्धी तयारीको जिम्मेवारी यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई दिनुभएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बस चलेपछि यात्रुलाई कहाँ खाना, खाजा खुवाउनेलगायतका विषयमा अहिलेसम्म जानकारी नगराएको बताउनुभयो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली कायमै रहेको जनाएको छ । यस्ता सवारी सञ्चालन गर्दा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरेको छ ।

तर अत्यावश्यक सेवा, कार्यालय आवतजावत तथा ढुवानी साधनको हकमा भने जोरबिजोर लागू नहुने जनाएको छ । चर्च, मठमन्दिर, मस्जिदलगायतका स्थानमा नित्य पूजाबाहेक भीडभाड गर्न निषेध गरेको छ । शैक्षिक संस्था, जिमखानालगायतका स्थान खुला गर्न नपाइने तथा यसअघि गर्न निषेध गरिएका गतिविधिहरु यथावत् रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।