फुटपाथ अतिक्रमण हटाउदै महानगरपालिका


ललितपुर, (नेस)

ललितपुर महानगरपालिकाले फुटपाथ अतिक्रमणविरुद्ध काम थाल्ने भएको छ । शहरको सौन्दर्य जोगाउन र र फुटपाथमा हिँड्न बटुवालाई सहज होस् भन्दै महानगरले यो काम शुरु गर्न लागेको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले फुटपाथमा मोटरसाइकल मर्मतको काम र निर्माण सामग्री थुपारेर फुटपाथ अतिक्रमण भएको बताउनुभयो । फुटपाथ अतिक्रमण हुन नदिन योजनाबद्ध र चरणबद्धरुपमा अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।

पूर्वट्राफिक प्रहरी निरीक्षक तथा महानगरका नवनियुक्त नगर प्रहरी प्रमुख सीताराम हाछेथुले फुटपाथमा मोटरसाइकलको मर्मत नगर्न नेपाल अटो मेकानिक्स व्यावसायिक संघलाई पत्र लेखेको बताउनुभयो । पत्रमा अटो वर्कसपमा काम गर्दा सार्वजनिक सडक र फुटपाथमा बटुवालाई बाधा पर्ने गरी नगर्न अनुरोध गरिएको छ ।

महानगरभित्रका फुटपाथमा पसलकबल भाडा लिएर सञ्चालनमा रहेका मोटरसाइकल वर्कसपको काम हुने गरिएको छ । यसले गर्दा फुटपाथमा हिँड्नेलाई अप्ठ्यारो भइरहेको छ ।

हाछेथुले पहिलो चरणमा फुटपाथमा वर्कसपको काम नगर्न अटोमेकानिक्स संघसंघको ध्यानाकर्षण गराएको बताउनुभयो । पत्रमा अटेरी गरे कारबाही गर्ने उल्लेख छ ।

दोस्रो चरणमा फुटपाथबाट निर्माण सामग्री हटाउने अभियान शुरु गरिने हाछेथुले बताउनुभयो । फुटपाथमा निर्माण सामग्री थुपारेर घर वा अन्य भवन निर्माण गर्दा फुटपाथमा हिँड्नेहरु अप्ठ्यारोमा परेको उहाँको भनाइ छ ।

परिस्थिति सहज बन्दै गएपछि फुटपाथमा बसेर व्यापार गर्नेलाई पनि हटाउने सन्दर्भमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो महामारीमा कसैलाई अप्ठ्यारो नपारौं भन्ने हो, कोरोना नियन्त्रण भएपछि यो काम थाल्छौं, स्थानीय समुदायलाई साथमा लिएर काम गर्छौं ।’