पत्रकार साहका हत्यारा १३ वर्षपछि पक्राउ

0
Shares

हेटौंडा, (नेस)

पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न एक अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले पत्रकार साहको हत्यामा संलग्न रहेका हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी, कुन्दन फौजदार भनिने नरेन्द्रकुमार फौजदार, रामएकवाल सहनी र मनेजर गिरीसमेत ५ जनाले अपरहण गरी २०६४ असोज १८ गते हत्या गरेका थिए ।

उनको शव बाराको डुमरवाना–७ स्थित जंगलमा खाल्टो खनी गाडिएको अवस्थामा सोही वर्ष कात्तिक २२ गते फेलापरेको थियो । टाँगियाबस्ती नजिक गाडिएको शवसँगै फेलापरेको डट्पेन र डायरी हाल पनि नेपाल पत्रकार महासंघमा सुरक्षितरुपमा राखिएको छ ।

उक्त कर्तव्यज्यान मुद्दाका अभियुक्त हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी बल्ल पक्राउ परेका छन् । पत्रकार साहको अपहरण तथा हत्यामा संलग्न मुख्य अभियुक्त कुर्मी बाराका विभिन्न स्थानमा लुकेर बसेको प्राविधिक अनुसन्धान तथा विशेष सुराकीका आधारमा जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बिहीबार दिउँसोे बाराको कोहल्वी नगरपालिका–४, सपही टोलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

बारा जिल्ला अदालतको २०६८ जेठ १६ गते, पुनरावेदन अदालत हेटौंडाको २०६९ साउन १६ गते र सर्वोच्च अदालतको २०७३ पुस २० गतेको फैसलाले अभियुक्त कुर्मीको हकमा फरार करार गरी मुद्दा मुल्तबीमा थियो ।
बाराको इनर्वासिरा गाविस–९ बस्ने गिरीलाई २०६५ असोज १९ गते र बाराको खोपवा गाविस–८ बस्ने सहनीलाई २०६५ पुस २१ गते पक्राउ गरी अदालतमा पेस गरिएकोमा उनीहरुलाई सर्वस्वसहित जन्मकैद हुने फैसला भएको थियो ।

बाराको गडहल गाविस–५ बस्ने कुन्दन भनिने नरेन्द्र २०७६ फागुन २५ गते पक्राउ परेर बारा जिल्ला अदालतको फागुन २९ गतेको आदेशले पुर्पक्षका लागि कारागार चलान भएको बारा प्रहरीले जनाएको छ ।