निशर्त रिहाइको माग गर्दै प्रदर्शन जारी


नेपाल समाचारपत्र, ललितपुर

प्रहरी हिरासतमा राखिएका सांस्कृतिक अधिकारकर्मीसहित स्थानीयलाई तत्काल निशर्त रिहाइ गर्न देशका विभिन्न स्थानमा सोमबार प्रदर्शन गरिएको छ ।

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भदौ १८ गते बिहीबार स्थानीयबासी र प्रहरीबीच पुल्चोकमा झडप भएको थियो । झडपका क्रममा प्रहरीले सांस्कृतिक अधिकारकर्मीसहित १९ जनालाई नियन्त्रणमा लिएको थियो । हिरासतमा राखिएकालाई निशर्त रिहाइको माग गर्दै खोकना, बुंगमती, मंगलबजार, भक्तपुर, कीर्तिपुर, साँखुलगायत उपत्यकाका विभिन्न स्थानबाट प्रदर्शन गरिएको हो । त्यस्तै रौतहट, हेटौंडा, बुटवलमा पनि प्रदर्शन गरिएको थियो ।

हिरासतमा राखिएकालाई मुक्त गर्न दबाब दिन जिल्ला प्रशासन कार्यालय ललितपुर घराउ गर्न सामाजिक सञ्जालमार्फत विभिन्न स्थानबाट युवाहरु मानभवन कार्यालयमा जान खोज्दा प्रहरीले तिनीहरुलाई कुमारीपाटीमै रोकेको थियो । त्यसपछि कार्यालय छिर्ने सबै नाकाहरुमा आवागमन निषेध गरिएको थियो ।

त्यसपछि आक्रोशित युवावर्गले कुमारीपाटीमै धर्ना दिएको स्थानीयबासी विश्वन्तर शाक्यले बताउनुभयो । ‘स्थानीय तह र स्थानीय प्रशासनका एकाध व्यक्तिको अर्कमण्य, विवेकहीनता र अहं तुष्टिले गर्दा रथयात्रालाई अनिर्णयको बन्दी बनाइएको हो । यो सम्पूर्ण घटनाको दोषी उनीहरु नै हुन्।’ –शाक्यले भन्नुभयो ।

यसैबीच रथयात्रा विषयमा सम्बन्धित निकायले समयै निर्णय गर्न नसकेको झडपको अवस्था उत्पन्न भएको भन्दै ललितपुर महानगरपालिका–१६ का विभिन्न टोलका युवाहरुले हिजो पाटन दरबार क्षेत्रमा प्रदर्शन गरेका थिए । ‘सांस्कृतिक अधिकारकर्मी निशर्त रिहाइ गर’, ‘सांस्कृतिक संवेदनशीलतालाई सम्मान गर’ भन्ने लेखिएको प्लेकार्ड बोकेर एक घण्टा प्रदर्शन गरिएको थियो ।

त्यस्तै सांस्कृतिक अधिकारकर्मी असोज महर्जन, यादवलाल कायस्थसहित सबैको निशर्त रिहाइ गर भन्दै खोकनामा बिहानदेखि प्रदर्शन गरिएको थियो । यसैबीच १९ वटा जातीय समाज र खलः पुचका अगुवाहरु, सांसदहरुको टोलीले प्रमुख जिल्ला अधिकारीसमक्ष भेटघाट गरेका छन् । भेटघाटमा सबैले निशर्त रिहाइको माग गरेका थिए ।

यसैबीच बौद्ध युवा कमिटी ललितपुरले एक विज्ञप्ति प्रकाशित गरी अविलम्ब रिहाइका लागि माग गरेको छ । कमिटीका सचिव प्रणिता शाक्यद्वारा जारी विज्ञप्तिमा स्थानीय प्रशासनले संस्कृति, परम्पराप्रति संवेदनशील मनोविज्ञानलाई बेवास्ता गरी स्थानीयलाई धमाधम धरपकड गरेको भन्दै निशर्त रिहाइको माग गरिएको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार हिरासतमा राखिएका १९ जनामध्ये जमानतमा ६ जनालाई थुनामुक्त गरेको छ । प्रहरीका अनुसार पृथविन्दु महर्जन, महेशराज वज्राचार्य, सुविन शाक्य, रवि शाक्य, श्याम थाहा, निरोज वाद्ये र धुर्वराज वज्राचार्यलाई थुनामुक्त गरिएको छ ।

यसअघि आइतबार प्रवीण शाक्य, दलबहादुर देउला र सुकुचा देउलालाई थुनामक्त गरिएको थियो । बाँकी ११ जनालाई आवश्यक विधि र प्रक्रिया पु¥याएर थुनामुक्त गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।