ओली–प्रचण्डबीच कुरा मिल्यो, नेपालको चित्त कहिले बुझ्ने ?


नेपाल समाचारपत्र, काठमाडौं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद समाधान हुने चरणमा पुगेको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिकै आधारमा सरकार पार्टी सञ्चालन गर्ने सहमति भइसकेको छ ।

तर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ओली–प्रचण्डबीच भएको सहमतिप्रति चित्त बुझाउनुभएको छैन । विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरेका विषयमा स्पष्ट व्याख्या नभएको भन्दै सचिवालयमा फरक मत राख्नुभएको छ । कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको अमूर्त विषयलाई थप स्पष्ट पार्नुपर्ने माग नेता नेपालले राख्नुभएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अध्यक्ष प्रचण्डबीच सरकारको बाँकी कार्यकाल ओलीले नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षसहितको जिम्मेवारी लिएर पार्टी सञ्चालन गर्नेमा समझदारी बनेको छ । सोही समझदारी भएपछि दुई अध्यक्षले जारी विवादको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

कार्यदलले बुझाएको सुझावसहितको प्रतिवेदन सचिवालय बैठकले अनुमोदन गरिसकेको छ । अब बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले कार्यदलको सुझावलाई समेत समावेश गरेर संयुक्तरुपमा प्रस्ताव पेस गर्नेछ । उक्त प्रस्ताव पारित भएसँगै नेकपाको जारी विवाद तत्कालका लागि समाधान हुने भएको छ ।

गत असारमा बसेको स्थायी कमिटी बैठकमा शुरुमा पाँचवटा एजेन्डामाथि छलफल तय भए पनि बैठकको बीचमै पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाटै ओलीको राजीनामा माग गरेपछि विवाद उत्कर्षमा पुगेको छ । विभाजको संघारमा पुगेको नेकपाको विवाद अन्ततः दुई अध्यक्षको समझदारीमा तत्कालका लागि टरेको छ । राजीनामाको विवाद चर्किंदै गएपछि स्थायी कमिटी बैठक ओलीले स्थगित गरे पनि प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमै सञ्चालन गर्नुभएको थियो ।

नेताहरुले स्थायी कमिटी बैठक बोलाउन माग गरे पनि पार्टीभित्र असमझदारी बढ्दै गएपछि बैठक पनि प्रभावित हुन पुगेको थियो । कार्यदलले पार्टीको विवाद समाधान गर्ने सुझाव दिएसँगै स्थगित भएको स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भदौ २६ गते स्थायी समिति बैठक बोलाइएको जानकारी दिनुभयो । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिअनुसार गत साउन १३ गतेबाट स्थगित बैठक ४० दिनपछि भदौ २६ गते बोलाउने सहमति भएको छ ।