स्वास्थ्यकर्मी संक्रमित, वीर अस्पतालको ओपीडी सेवा २ दिन बन्द


न्यूज अफ नेपाल, काठमाडौं ।
नेपालकै पहिलो सुविधा सम्पन्न सरकारी वीर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सहित ७१ जनामा कोरोना संक्रमण भएपछि अस्पतालको सेवा नै प्रभावित भएको छ । अस्पतालका निर्देशक डा केदार सेन्चुरीका अनुसार मंगलबार दिउँसोसम्म ७१ जना स्टाफमा कोरोना संक्रमण भएको बताउनुभयो ।

डा.सेन्चुरीले दिनुभएको जानकारी अनुसार बुधबार र बिहिबार दुई दिन ओपीडी सेवा पूर्ण रुपमा बन्द हुनेछ । वीरको ल्याब, फार्मेसी लगायतका विभागमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाले अस्पतालमा निर्मलीकरण गर्नका लागि सेवा बन्द गर्ने निर्णयमा पुगेको डा.सेन्चुरीले बताउँनुभयो ।

मंगलबार मात्र वीरका १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोरोना संक्रमण भएको डा सेन्चुरीले बताउँनुभयो ।

सरकारको रिफरल केन्द्रिय अस्पताल भएकाले कोभिड र नन कोभिड बिरामी एउटै अस्पतालमा सेवा दिनुपर्ने बाध्यता छ । यसो गर्दा नन कोभिडलाई पिपिई पर्याप्त मात्रामा दिन सकेको अवस्था नभएको र अफिस आवत जावतमा पनि एउटै सवारी साधन पटक पटक प्रयोग गर्नुपर्ने बाध्यता भएकाले कतिबेला कहाँबाट कोरोना संक्रमण फैलियो भन्ने पहिचान गर्न गाह्रो अवस्था रहेको उहाँले बताउनुभयो ।