यी हुन उच्चपदस्थ व्यक्ति, जसमा कोरोना संक्रमण पुष्टि भएको छ


काठमाडौं । गत वर्षको डिसेम्बर ३१ मा पहिलोपटक चीनको वु्हानबाट व्यापक फैलिरहेको कोरोनाले नेपालका केही उच्चपदस्थ व्यक्तिहरूमा समेत कोरोना संक्रमण भएको छ । पछिल्लो समयमा नेपालमा मन्त्री, सांसद, पूर्वमन्त्री, चिकित्सक, व्यवसायी, तथा उच्चपदस्थ व्यक्तिहरूमा समेत कोरोना संक्रमण पुष्टि भइरहेको छ ।

नेपालमा शुरूमा माघ १० गते गते देखा परेको कोरोना भाइरसको संक्रमण चैतको १० गते फेरि काठमाडौं कि युवतिमा दोस्रो संक्रमण देखिएपछि १ सय २० दिन लामो लकडाउन गरिएको थियो । नेपालमा कोरोना भित्रिएको सात महिना हुँदा समेत अझैपनि पर्याप्त तयारी र चेकजाँचको सहज उपलब्धता भने हुन नसकेको गुनासो जनस्तरबाट आइरहेको छ ।

ज्वरो आउने समस्या देखिएपछि कोरोना परीक्षण गराएका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उनमा कोरोना पुष्टि भएको थियो। उनी अिहले होम आइसोलेसनमा छन् भने उनको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ।

चौधरी ग्रुपका पूर्वअध्यक्षसमेत रहेका स‌घीय सांसद विनोद चौधरी पनि कोरोना संक्रमित भएका छन् । उनले गत शुक्रबार समाजिक संजालमार्फत संक्रमित भएको घोषणा गरेका थिए ।

आफूसँग सम्पर्कमा आएकाहरुलाई सुरक्षित बस्दै परीक्षण गराउन आह्वान गर्दै उनले कोरोना संक्रमणको कुनै लक्षण आफूलाई नदेखिएको र चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको जानकारी समेत दिएका छन्।

त्यसैगरी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालसँगै उनकी पत्नीलाई पनि कोरोना पुष्टि भएको छ । आइतबारदेखि ह्याम्स अस्पतालमा उपचाररत रहेका रिजाल दम्पतीमा गत शनिबार कोरोना पुष्टि भएको थियो । आफूहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन ।

प्रदेश–२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवबाट सुरु भएको भिआइपीको संक्रमण अहिलेसम्म धेरै जनामा पुगिसकेको छ। साउन २१ गते बुधबार राति आएको रिपोर्टमा यादव कोरोना संक्रमित भएका थिए ।

संक्रमण पुष्टि हुनु अघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापा तथा बाँकी छ प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग भेट गरेका थिए । तर ज्ञानेन्द्र यादव बाहेक औपचारिकरुपमा भेटेका प्रधानमन्त्रीसहित बाँकीमा कोरोना संकम्रण देखिएन ।

स्वास्थ्यमा समस्या आएपछि कोरोना परीक्षण गराएका प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि कोरोना संक्रमित भएका छन् । ज्वरो तथा पखाला लाग्नेजस्ता समस्या देखापरेपछि कोरोना परिक्षण गराएका उनलाइ सोमबार साँझ संक्रमण देखिएको थियो ।

वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा पनि संक्रमण पुष्टि भएको छ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी आफैले कोरोना संक्रमण पुष्टि भएको भन्दै सामाजिक संजालबाट सार्वजनिक गरेका थिए। स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएर साउन दोस्रोे साता स्वाब संकलन गरेका सरावगीमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

भारतबाट आएकाहरूको क्वारेन्टाइन, संक्रमितहरूको आइसोलेसन व्यवस्थापनमा खटिँदै आएका मेयर सरावगी हाल संक्रमण मुक्त भइसकेका छन् । उनको उपचार काठमाडौंको एक निजी अस्पतालमा गरिएको थियो।

संघीय संसदमा सुदुरपश्चिमा प्रदेशको अछाममाबाट प्रतिनिधित्व गर्ने सांसद यज्ञबहादुर बोगटी पनि कोरोना संक्रमित भएका छन् भने प्रदेश २ को पर्साबाट निर्वाचित संघीय सांसद प्रदिप यादव पनि संक्रमित छन्।

बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाइ पनि कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १ गते उनीसँगै उनका नौ वर्षीय छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । राधिका तामाङ कोरोना संक्रमित भएर निको भएकी छन् । उनी निर्वाचन क्षेत्र गएका बेला संक्रमण भएको अनुमान गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयमा कार्यारत सचिव मधुसुदन बुर्लाकोटीले पनि कोरोना जित्न सफल भएका छन् ।पूर्वपर्यटनमन्त्री, नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलाई पनि संक्रमण पुष्टि भएको छ । शाहीलाई साउन अन्तिम साता संक्रमण पुष्टि भएको थियो । उनले पनि कोरोना संक्रमण जित्न सफल भएका छन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे कोरोना संक्रमित भएका छन । अख्तियार केन्द्रीय कार्यालय टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्र्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि घिमिरेमा गत साउन २७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

रुघाखोकी लाग्न थालेपछि कोरोना आशंकामा परीक्षण गर्न अस्पताल पुगेकी प्रदेश ५ की सांसद कृष्णा केसीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी थिइन्।

सांसद डा. सूर्यनारायाण यादवलाई कोरोना संक्रमण भएको छ । सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित यादवलाई साउन ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। झाडापखाला लागेर गम्भीर अवस्थामा आएकि एक बालिकाको उपचारका क्रममा उनी संक्रमित भएको आशंका गरिएको छ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२१ का सभापति गोविन्द रञ्जितको कोरोना संक्रमण पुष्टिपछि मृत्यु भएको छ। मुटुका बिरामी समेत रहेका ६७ वर्षे रन्जितको भदौ ९ गते सशस्त्र प्रहरी बलम्बु अस्पतालमा मृत्यु भएको थियो। अस्पताल पुर्‍याएपछि उनलाई पाँच दिनदेखि भेन्टिलेटरमा राखिएको थियो।