समुदायमा थाहैै नभई भुसको आगोझैं फैलियो कोरोना, १४ दिनको नाबालकसमेत संक्रमित


शिक्षा पन्त, लमजुङ ।

पछिल्लो समय कोरोना संक्रमण व्यापकरुपमा फैलिएर लमजुङ सदरमुकाम बेसीशहर कोरोना संक्रमणको ‘हट स्पट’ बन्दै गएको छ । सक्रिय संक्रमितको संख्या जिल्लाभर २ सय १५ रहेको छ भने आइसोलेसनमा १ सय २ जना रहेका छन् ।

कोरोना संक्रमितमध्ये धेरैजसो लमजुङ सदरमुकाम बेसीशहरका रहेका छन् । दिनहुँजसो संक्रमित थपिन थालेका छन्, यसले आम नागरिकलाई त्रसित बनाउँदै लगेको छ । नागरिक सचेत नहुनु तथा लकडाउन अनि निषेधाज्ञाकोे उल्लङ्घन गरी हिँड्डुल गरेकै कारण कोरोना समुदायस्तरमा फैलिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

सदरमुकाम बेसीशहरमा कार्यक्षेत्र बनाएका प्रहरी, बैंक, फाइनान्स, सहकारी, व्यवसायी, सञ्चारकर्मी, स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । शुरुआती चरणमा समुदायस्तरमा गत साउन २९ गते सुन्दरबजार नगरपालिका–७ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनको कन्ट्र्याक ट्रेसिङको आधारमा पीसीआर टेस्ट गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । अहिले समुदायमा कोरोना फैलिइसकेको छ ।

लमजुङमा मंगलबार मात्र १४ दिनको नाबालकसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला सामुदायिक अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले नाबालकका आमाबाबु दुवै जना कोरोना संक्रमित भएका कारण कन्ट्र्याक ट्रेसिङको आधारमा गरिएको टेस्टमा उक्त १४ दिने नाबालकलाई कोरोना पोजेटिभ देखिएको बताउनुभयोे ।

बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्यालले ंजिल्लाको सदरमुकाम रहेको बेसीशहरमा मानिसको आवातजावत धेरै हुने भएकाले संक्रमण छिटो फैलिएको बताउनुभयो । सेना तथा प्रहरीमा कोरोना संक्रमितको संख्या धेरै भएको बताउँदै उनीहरुबाट समुदायमा कोरोनाको संक्रमण फैलाएको उहाँको भनाइ थियो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले १६ पुरुष र १० महिला गरी २६ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ । नयाँ संक्रमित पुष्टि हुनेमा लमजुङमा कार्यरत नेपाल प्रहरीका ४ जना, जिल्ला सामुदायिक अस्पतालको वार्डमा रहेका १४ दिनको नाबालकसहित ५ जना, अस्पतालका १ पुरुष कर्मचारी, ग्लोबल बैंकमा कार्यरत ५ जना कर्मचारी, बेसीशहरमा कार्यरत १ सञ्चारकर्मी महिला छन् ।

त्यस्तै लमजुङका १० जना स्थानीयमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पोखरा पठाइएका उनीहरूको रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई आइसोलेसनमा लगिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

मंगलबारसम्म संक्रमितको संख्या २ सय १५ पुगेको छ, जसमा महिला ३२ र पुरुष १ सय ८३ जना रहेका छन् । ३ सञ्चारकर्मीसहित २२ नेपाली सेना, ३६ नेपाल प्रहरी, ८ बैंकका कर्मचारी र ४ जना स्वास्थयकर्मी कोरोना संक्रमित भएका छन् ।

प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले प्रहरी संगठनभित्र समुदायमा थाहा नै नभई भुसको आगोझैं कोरोना फैलिसकेको बताउनुभयो । उहाँले समुदायभित्र घुलमिल भई काम गर्नुपर्ने भएकाले प्रहरीका कर्मचारी धेरै संक्रमित हुन पुगेको बताउनुभयो । लमजुङमा हाल महिला २३ र पुरुष ७९ गरी १ सय २ जना आइसोलेसनमा रहेका छन् । ९ जना महिला र पुरुष १ सय ४ गरी १३ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

लमजुङ सामुदायिक अस्पताल, मोडल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिन थालेपछि अन्य रोगका बिरामीलाई समेत उपचारमा जान समस्या भएको छ । स्वास्थ्यकर्मीमा नै कोरोना संक्रमण पोजेटिभ देखिएपछि लमजुङ मोडेल अस्पताल सिल गरिएको छ । लमजुङ सामुदायिक अस्पतालमा भने आइसोलेसनसमेत भएकाले कोरोनाका बिरामीलाई मात्र उपचार गर्ने प्रबन्ध मिलाइएको छ ।