महानगरका दुई दर्जन कर्मचारी क्वारेन्टाइनमा


ईश्वरराज ढकाल, काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरमा कार्यरत दुई दर्जन कर्मचारी होम क्वारेन्टाइनमा बसेका छन् । मेयर शाक्यलाई कोरोना संक्रमण देखिएसँगै उहाँका सम्पर्कमा रहेका करिब ४० जनाको स्वाब परीक्षण गरिएको थियो ।

कामपाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, सहसचिव राजेश्वर ज्ञवाली, प्रशासन प्रमुख नमराज ढकाल, निजी सचिव राजेश्वर स्थापित, सचिवालयका केही सदस्य, सुरक्षा गार्ड राजेन्द्र फँुयाल, रवि गुरुङ, जेपी ढकाललगायत दुई दर्जन कर्मचारी केही दिनका लागि होम क्वारेन्टाइनमा बसेका छन् ।

मेयर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी हुनासाथ उहाँसँग सम्पर्कमा रहेका सबैको परीक्षण गरिएको थियो । कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कुँवरले मेयरसँग सम्पर्कमा रहेका करिब ४० भन्दा बढी कर्मचारीको स्वाब परीक्षण गरिएको जानकारी दिनुभयो ।

स्वाब परीक्षण गरिएका सबै जना होम क्वारेन्टाइनमा छन् । स्वाथ्य मन्त्रालयले स्वाब परीक्षणको रिपोर्ट नआउन्जेलसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिसकेको छ । सोही आधारमा करिब दुई दर्जन कर्मचारी होम क्वारेन्टाइनमा बसेका हुन् ।

कामपाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत अर्यालले मेयरलाई कोरोना संक्रमण पुष्टि हुनासाथ सोमबार मेयरका निजी सचिव, निजी सुरक्षा गार्डलगायतको स्वाब परीक्षण गरेको जानकारी दिनुभयो । उहाँले कामको सिलसिलामा मेयरसँग अधिकांश बैठकमा सहभागी भएकाले आफू र केही उच्च कर्मचारी केही दिनका लागि होम क्वारेन्टाइनमा बसेको जानकारी दिनुभयो ।

सोमबार कामपाको भवन स्थानान्तरण गर्नेसम्बन्धी बैठकमा मेयर उपस्थित नभएपछि उहाँलाई कोरोना पोजेटिभ भएको जानकारी भएको थियो । उहाँ लगनस्थित आफ्नै घरमा आइसोलेसनमा हुनुहुन्छ । उहाँ केही दिनअघि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसहितको टोलीमा रानीपोखरी पुनर्निर्माण प्रगतिको अनुगमनमा जानुभएको थियो ।

उपत्यका मेयर फोरमका अध्यक्षसमेत रहनुभएका शाक्य पछिल्लो साता फोरमको बैठकमा क्रियाशील हुनुहुन्थ्यो । फोरमको बैठकमा उहाँसँगै स्वाथ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका कर्मचारीसमेत सहभागी हुने गरेका थिए ।

यसैबीच मेयर शाक्यसँग एक साताअघिदेखि सम्पर्कमा रहेका सबैको परीक्षण गर्ने तयारी भइरहेको छ । मेयर शाक्यलाई संक्रमण भएपछि उहाँको उपस्थितिमा हुने बैठक प्रभावित भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेपछि मेयर शाक्यले राष्ट्रिय सभागृहबाट काम गरिरहनुभएको थियो ।

त्यसैले सभागृहका सबै कर्मचारीको परीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत एवं सचिव अर्यालले जानकारी दिनुभयो । सभागृहमा मेयर फोरमका सबै बैठक हुने गरेको थियो ।

सभागृहमा सचिव, सहसचिव, प्रवक्ता, सचिवालय, सूचना तथा सञ्चार विभाग, मेट्रो एफएमको कार्यालय छन् । कामपाले मेयरलाई कोरोना संक्रमण पुष्टि भएपछि सबै विभाग, महाशाखालगायत कार्यालयका कर्मचारीले स्वाब परीक्षण गर्न माग गरेका छन् ।

सम्पर्कमा आएका सबैले परीक्षण गर्न आग्रह

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चार दिनअघिदेखि आफूसँग सम्पर्कमा आएका सबैलाई स्वाब परीक्षण गर्न आग्रह गर्नुभएको छ ।

मेयर शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गरेको कुराकानीमा उहाँले भन्नुभयो– ‘मेरो अवस्था सामान्य छ, केही दिनपछि पुनः परीक्षण गरेपछि थाहा होला ।’

उहाँले कोरोनाबाट नतर्सन आग्रह गर्दै यो सामान्य रोग हो भन्ने सम्झनुपर्नेमा जोड दिनुभयो । सामाजिक दूरी कायम गर्ने, मास्क र सेनिटाइजर प्रयोग गर्ने र आफूलाई शंका लागेमा परीक्षण गर्नेलगायतको काम गर्नाले कोरोना संक्रमणबाट सजिलै जोगिन सकिने उहाँको भनाइ थियो ।

‘मलाई केही पनि भएको छैन, सामान्य छु, टेलिफोन र मोबाइलबाट काम गरिरहेको छु । भर्चुअल बैठकमा बसेर कुराकानी गरिरहेको छु।’ –उहाँले भन्नुभयो ।

अधिकांश बैठकमा मास्क प्रयोग नगरेको भन्दै आलोचना खेपिरहनुभएका मेयर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएपछि सामाजिक सञ्जालमा उहाँको आलोचना शुरु भएको छ ।

दुई मेयर होम क्वारेन्टाइनमा
उपत्यका मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ होम आइसोलेसनमा बस्नुभएको छ ।

पाँच दिनअघि कोभिड व्यवस्थापन समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोरखेल, गृहमन्त्री रामबहादुर थापा, गृह सचिव महेश न्यौपाने र स्वास्थ्य सचिव लक्ष्मण अर्यालसहितको बैठकमा उपस्थित हुनुभएका दुई मेयर हिजो मंगलबारदेखि होम आइसोलेसनमा बस्नुभएको हो ।

बैठकमा चिया दिने एक कर्मचारीलाई संक्रमण पुष्टि भएपछि चार दिनदेखि उपप्रधान तथा रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा हुनुहुन्छ । बैठकमा उपस्थितमध्ये दुई मेयरलाई हिजो होम क्वारेन्टाइनमा बस्न आग्रह गरेपछि घरमै बसेको ललितपुर महानगरपालिकाका मेयर महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘आज बुधबार स्वाब परीक्षण गरेर रिपोर्ट नआउन्जेलसम्मका लागि होम क्वारेन्टाइनमा बस्न आग्रह गरेपछि हिजोबाट घरमै बसेका छौं ।’

मेयर महर्जनले स्वाब परीक्षणको रिपोर्ट नआएसम्म घरबाटै काम गर्ने बताउनुभयो । फोरमका तीन हस्तीमध्ये अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ भने दुई जनाको स्वाब परीक्षण हुन बाँकी छ । तीन मेयर नै क्वारेन्टाइन र आइसोलेसनमा बसेपछि कोरोना संक्रमणको विषयमा गर्नुपर्ने महत्वपूर्ण निर्णय प्रभावित हुने भएको छ ।