लापरबाहीका कारण गयो ज्यान


बुटवल, (नेस)

रूपन्देहीको गैडहवा गाउँपालिकामा निर्माण व्यवसायीको लापरबाहीका कारण कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।

गैडहवा गाउँपालिका–३ धौथनिया निवासी ५३ वर्षीय पुरुषको भैरहवा मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचारको क्रममा मृत्यु भएको गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद उपाध्यायले जनाउनुभयो ।

बुटवलमा ज्याला मजदुरीमा काम गर्दै आएका मृतक ३ दिनदेखि बिरामी परेको र काम गर्ने क्रममा २ तलामाथिको छतबाट खसेपछि बेहोस अवस्थामै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा उपचार गरी टाउकोको सिटिस्क्यान गरिएको थियो ।

सिटिस्क्यान रिपोर्टमा टाउकोमा गम्भीर चोट भएको र थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरेको थियो ।

उनलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको भए पनि निर्माण व्यवसायीले उपचारै नगरी अस्पतालबाट मृतककै घरमा लगेर छोडिदिएका थिए । बिरामी अवस्थामा घर ल्याइएका उनलाईलाई स्थानीय जनप्रतिनिधि र समाजसेवीहरूको पहलमा उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको थियो ।

कलेजको सघन कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था भएपछि मेडिकल कलेजले उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसन कक्षमा उपचार गर्ने क्रममा मंगलबार मध्यराति उनको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

मृतक पुरुषको परिवारमा १८ जना रहेको र उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेकाको पीसीआर परीक्षणका लागि बुधबार स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले जनाउनुभएको छ ।

कोरना पुष्टि भएपछि वडा नं. ३ को धैथनियासँग जोडिएका गाउँ तथा क्षेत्रको सिलसमेत गरिएको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताउनुभयो ।

दुर्घटनामा एकको मृत्यु
रूपन्देहीको तिलोत्तमामा सडक चौपायासँग स्कुटर ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तिलोत्तमा–३ कोे सडकमा गाईसँग स्कुटर ठोकिएर दुर्घटना हुँदा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको हो ।

बुटवलबाट आफ्नो घरतर्फ जाँदै गरेको लु२६प १४५५ नम्बरको स्कुटर मंगलबार राति सवा ११ बजे सडक दुर्घटनामा परी गम्भीर घाइते भएका कार्कीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सँचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

गाईलाई बचाउने क्रममा दुर्घटना भएका प्रहरीले जनाएको छ । बुटवल तिलोत्तमा क्षेत्रमा छाडा चौपायाको समस्या विकराल हुँदँ पनि स्थानीय निकायले सोको व्यवस्थापन गर्न नसक्दा मानिसको अकालमा ज्यान जाने गरेको छ