किस्ट हस्पिटलले लुकायो सूचना


नेपाल समाचारपत्र, काठमाडौं
किस्ट मेडिकल कलेजमा धमाधम स्वास्थ्यकर्मी संक्रमित हुँदै होम आइसोलेसनमा बसेर निको भएपछि काममा फर्किएका छन् । तर अस्पताल प्रशासनले भने बिरामीको चाप घट्ने चिन्ताले स्वास्थ्यकर्मी संक्रमित भएको सूचना नै लुकाएको पाइएको छ ।

उक्त मेडिकल कलेजमा प्रसूति विभागका एक चिकित्सक, फिजियो थेरापी विभागका कर्मचारी, मेडिकल विभागका चिकित्सक, आवासीय चिकित्सक, एक्सरे विभागका कर्मचारीलगायतका कर्मचारीमा कोरोना संक्रमण भएको र एक जना एक्सरे विभागका कर्मचारीको अझै पनि सोही अस्पतालमा उपचार गराइरहेको जानकारी प्राप्त भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

किस्ट मेडिकल कलेजमा कोभिड १९ का बिरामी झन्डै २० जनाको हाराहारीमा भर्ना भएका र केही बिरामीले अस्पतालको महँगो शुल्कका कारण अस्पताल भर्ना हुन नसकेर जटिल अवस्थामा पनि घरमै आइसोलेसनमा बस्न बाध्य भएको गुनासो स्वास्थ्य मन्त्रालयसमक्ष गरेको बुझिएको छ ।

किस्ट मेडिकल कलेजमा क्याबिनमा भर्ना हुन १ लाख देखि १ लाख ५० हजार पर्छ भने सामान्य बेडमा ५० हजार चाहिन्छ भनेकाले आफू भर्ना नभई घरमै बसेर पुनः परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएको एक बिरामीले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।

यतिबेला अस्पतालको क्याबिनमा १० जनाभन्दा बढी र सामान्य बेडमा पनि कोरोना संक्रमित बिरामीहरु भर्ना भएका छन् । अस्पतालमा लामो समयदेखि बिरामीको खडेरी परेको र अहिले कोभिडका बिरामी भर्ना भएपछि उनैबाट मोटो रकम असुल गर्ने उद्देश्य राखेको गुनासो पीडित बिरामीले गरेका छन् ।

संक्रमित बिरामीले पहिलाजस्तै अस्पतालमा बिरामी कमै होलान् सुरक्षाका लागि क्याबिनमा बस्दा सस्तो रहेछ भने त्यहीं बसौं भनेर मूल्य सोध्दा आफँले नर्मल बेडमा पनि तिर्न नसक्ने बुझेर जति दुःख कष्ट भए पनि घरमै बस्छुु भनेर फर्किएको बताए ।

यस विषयमा जानकारी लिनका लागि किस्ट मेडिकल कलेजका चिफ अप्रेटिङ अफिसर अमिस पाठकसँग पटक पटक फोन गर्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन । नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले मेडिकल कलेजहरुलाई पनि सरकारले तोकेकै मूल्यमा उपचार गर्न निर्देशन गरेको र सरकारले बिरामी पठाएको खण्डमा सरकारले तोकेको आईसियूमा राखेको बिरामीलाई प्रतिदिन १५ हजार, अक्सिजनसहित वार्डमा राख्दा ७ हजार र सामान्य अवस्थामा राखेकालाई ३ हजार ५ सय स्रोतभर्ना स्वरुप स्वास्थ्य मन्त्रालयले नै तिर्ने र अस्पतालले छुट्टै लिन नपाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।