२२ विशेषज्ञ चिकित्सकलाई २ नम्बर प्रदेश पठाइयो


काठमाडौं, (नेस)
कोरोना संक्रमणको इपी सेन्टर बन्दै गएको प्रदेश नम्बर २ मा केन्द्र सरकारले २२ जना विशेषज्ञ चिकित्सक पठाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा नारायणी प्रादेशिक अस्पतालमा काम गर्ने गरी ९ जना विशेषज्ञ चिकित्सक पठाइसकेको छ भने बाँकीलाई पनि दुई दिनभित्र दुई नम्बर प्रदेशको कोरोना संक्रमित भएर उपचारार्थ भर्ना भएका अस्पतालमा पठाउने तयारी गरेको छ ।
मन्त्रालयका अनुसार ६ जनालाई जनकपुरमा रहेको प्रादेशिक अस्पतालमा पठाउने भएको छ भने ६ जनालाई रौतहटको गौर अस्पतालमा पठाउने तयारी गरेको छ । बाँकी रहेका चिकित्सकलाई महामारीको अवस्था हेरेर खटाउने पनि मन्त्रालयले जनाएको छ ।
सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई त्यहाँ पठाउने व्यवस्था मिलाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।