थरीथरीका नम्बर प्लेटले अन्योल


काठमाडौं, (नेस)
मुलुक संघीय शासन प्रणालीमा गएसँगै प्रदेशअनुसार फरक–फरक नम्बर प्लेट जारी गरेपछि अन्योल देखिएको छ । संघीय प्रणालीमा जानुअघि अञ्चलको नामबाट नम्बर प्लेट जारी हुने गरेको थियो ।

सरकारले सवारी साधनमा जडान हुने नम्बर प्लेटमा एकरुपता कायम गर्न सकेको छैन । बागमती प्रदेशको नामाकरण हुनुअघि तीन नम्बर प्रदेश रहेको नम्बर प्लेट जारी गरेको यियो । अहिले तीन नम्बर प्रदेश, बागमती प्रदेश र पूर्व बामगती अञ्चलको नामबाट जारी भएको नम्बर प्लेट सडकमा देखिन्छ । नम्बर प्लेटमा एकरुपता नहुँदा सडकमा सवारी साधनको चेकजाँचमा बस्ने प्रहरीसमेत झुक्किने गरेका छन् ।

बागमती प्रदेशभित्र चल्ने यातायातका साधनहरूमा तीन थरीको नम्बर प्लेट देख्न पाइन्छ । हाल अञ्चलको संकेत उल्लेख गरिएको नम्बर प्लेट, प्रदेशको संकेत उल्लेख गरिएको नम्बर प्लेट र इम्बोस्ड नम्बर प्लेट गरी तीन थरी नम्बर प्लेट अहिले प्रयोगमा रहेका छन् । सवारी साधनमा जारी हुने नम्बरमा एकरुपता नहँुदा प्रहरीलाई समेत सास्ती हुने गरेको ट्राफिक प्रहरी महाशाखाका एक अधिकृत बताउँछन् । विशेष खाले चिप जडान गरिने त्यस्तो नम्बर प्लेटमा सवारी साधन र सवारी धनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले अदालतमा रिट परेसँगै केही वर्ष रोकिएको सवारीसाधनमा डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट राख्ने काम शुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘अदालतले इम्बोस्ड नम्बर राख्न पाउने पक्षमा फैसला गरेसँगै हालसम्म झन्डै ६ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको छ ।’ अदातलले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी फैसला गरिसकेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागले डेकाटुर टाइगर कम्पनीलाई ४ करोड ३७ लाख ८७ हजार ५ सय डलरमा पाँच वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर प्लेट बनाउन जिम्मा दिएका थियो । डेकाटुरलाई ठेक्का दिइएपछि २०७४ भदौ ४ देखि इम्बोस्ड नम्बर प्लेट राख्न शुरु गरिएको थियो । जडान शुरु भएसँगै सर्वोच्च अदालतमा रिट परेपछि उक्त प्रक्रिया रोकिएको थियो ।

हमालका अनुसार शुरुमा सरकारी सवारीसाधनमा अनिवार्य गरिने र विस्तारै निजी सवारीसाधनमा समेत अनिवार्य गर्दै लगिनेछ । विभागले हाल प्रयोग भइरहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ वटा इम्बोस्ड नम्बर प्लेटमा सीमित गरेको छ ।