कोभिड महामारी रोकथामको प्रयाससँगै सहरी पूर्वाधार र सौन्दर्य बढाउने काम गर्दै महानगर

स्वास्थ्य मापदण्ड पालना गराउन सकिने क्षेत्रका काम गर्दैछौं - सहसचिव ज्ञवाली

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका समयमा काठमाडौं महानगरले स्वास्थ्य मापदण्ड पालना गराएर नियमित गराउन सकिने कामलाई निरन्तरता दिएको छ । अहिलेको प्राथमिक काम महामारीको फैलावट रोक्नु हो । यो समय व्यवस्थापन गर्न अत्यावश्यक सेवा नियमित गरेका छौं ।

महानगरका सहसचिव राजेश्वर ज्ञवाली भन्नुहुन्छ-‘यसका अतिरिक्त स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराएर गर्न नियमित गर्न सकिने पूर्वाधार र सहरी सुन्दरताका कामलाई पनि निरन्तरता दिएका छौं ।’ ‘सरसफाइ महानगरको पहिलो काम हो । यससँगै जमल, तीनधारा पाठशालाअघि ट्राफिक आइल्याण्ड निर्माण र पुननिर्माण गर्ने बिरुवा तथा फुल रोप्ने काम भइरहेका छन् । सुन्धारा, भोटाहिटी र दरमार्गका आइल्याण्ड निर्माण भइसकेका छन् ।

यससँगै झिलीमिली काठमाडौं बनाउने अभियानअन्तर्गत दरबारमार्ग बिकास समितिसँगको सहकार्यमा दरबारमार्गमा रात्रीकालीन पाइप लाइट जडान गरिएको छ ।’ सहसचिव ज्ञवाली भन्नुहून्छ -‘वडा १८ को भुरुङ्खेल पार्क र पुष्पलाल पार्कमा पनि बत्ती जडान गरिएको छ । परीक्षणका लागि यस अघि माइतीघर मण्डलामा बत्ती जडान गरिएको थियो । यसबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि कार्यक्रमलाई बिस्तार गर्दै लगेका हौं ।’

सहसचिव थप्दै भन्नुहुन्छ – ‘कोभिडको असर कम गर्दै जनजीवनलाई सामान्य बनाउन सहरी पूर्वाधार र सौन्दर्य बिकास गर्दै जानु पर्छ । सहरलाई सुरक्षित, व्यवस्थित र रातमा पनि जागा गराउन सडक बत्तीको संयोजन जरुरी छ । व्यवसायिक सामाजिक उत्तरदायित्वसँग जोडेर अभियानलाई बिस्तार गर्दै लगिनेछ ।’