काठमाडौंका मेयरको वेदना : संक्रमित बोकेको एम्बुलेन्स राख्न दिँदैनन्, चिकित्सक लखेट्छन्

कोरोना लक्षित कार्यक्रम गर्नुअघि मिडियालाई भन्दिनँ


ईश्वरराज ढकाल, काठमाडौं

हेर्नुस् न, कोरोना संक्रमित बोकेको एम्बुलेन्स राख्ने ठाउँ छैन । कोरोना संक्रमित बोकेको एम्बुलेन्स टोलमा राखेको देख्यो कि सबैले विरोध गर्छन् ।

अस्पतालमा काम गर्ने स्वाथ्यकर्मी राखेको घर देख्यो कि उनीहरुलाई तत्काल निकाल भन्ने दबाब आउँछ । कहींकतै संक्रमित देख्यो कि टोल नै उल्टिएर घरमा भएका सबैलाई निकाल्न खोज्छन् ।

यस्तै छ अहिलेको काठमाडौंको अवस्था । महानगरको पछिल्लो अवस्थाबारे जानकारी लिन खोज्दा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भन्नुहुन्छ– ‘अब म मिडियालाई केही भन्दिनँ, गोप्यरुपमा काम गर्नुपर्ने बेला आएको छ ।’

शनिबार बानेश्वरनजिक मिलनटोलमा सिभिल अस्पतालका चिकित्सक बसेको होस्टलमा टोल सुधार समितिको अगुवाइमा चिकित्सकमाथि दुव्र्यवहार गरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै मेयर शाक्यले भन्नुभयो– ‘अबदेखि कोरोना संक्रमण रोकथामको विषयमा हुने गरेका कामका बारेमा केही बोल्दिनँ ।’

उहाँले राजधानीबासीको हितमा लागिरहँदा समस्या पर्न थालेको गुनासो गर्नुभयो । ‘अहिले त अति समस्या परिसकेको छ । कोरोना संक्रमित राखेको वडा वा क्षेत्र देख्यो कि स्थानीयले गालीगलौज गर्न थालेका छन्।’ –उहाँको भनाइ थियो ।

उहाँले वास्तवमा कोरोना संक्रमण नदेखिएका चिकित्सकलाई होस्टलमा राख्दा विवाद गरेका जनताले नजिकै आइसोलेसन सेन्टर राख्दा के गर्लान् भनी प्रतिप्रश्न गर्नुभयो ।

एक साताभित्र उपत्यकाका नगरपालिकाले ५ हजार क्षमताको आइसोलेसन सेन्टर बनाउन गरेको निर्णय कार्यान्वयन भएको हो वा हुन बाँकी छ भन्ने विषयमा नेपाल समाचारपत्रले प्रश्न सोध्दा उहाँले भन्नुभयो– ‘अहिले यो विषयमा केही उत्तर दिन्नँ ।’

मिडियालाई भनेर काम गर्दा समस्या हुने बताउँदै उहाँले अब हल्ला नगरी काम गर्ने बेला आएको बताउनुभयो । आइसोलेसन बनाउने विषयमा सबै निकायसँग छलफल भइरहेको बताउँदै उहाँले कहाँ कति क्षमताको बन्ने भन्ने विषयमा जानकारी नदिने बताउनुभयो ।

विशेष गरी राजधानी रहेको काठमाडौंभित्र महानगरपालिकालाई अहिले काम गर्न समस्या पर्दै गएको धारणा राख्दै मेयर शाक्यले भन्नुभयो– ‘अब हामीले जे काम गर्छौं, सबै गोप्यरुपमा गर्छौं ।’ मिडियालाई सूचना दिन समस्या परेको भन्दा पनि कोरोना संक्रमितप्रति स्थानीयको धारणा सामान्य नभएको कारण समस्या आएको उहाँको भनाइ थियो ।

जसरी संक्रमितको नाम गोप्य राखेर उपचार गरिन्छ, त्यसरी नै कोरोना रोकथाम, आइसोलेसन निर्माणलगायतका विषयमा गरिएका सबै काम गोप्य राखिने उहाँको भनाइ थियो ।

काठमाडौं महानगरपालिकाले आउँदो १ हप्ताभित्र उपत्यकास्तरीय एकीकृत आइसोलेसन निर्माण गर्ने भएको छ । कोभिड–१९ को बढ्दो संक्रमण व्यवस्थापन गर्न र तेस्रो मुलुकबाट आउने ठूलो संख्याका यात्रुलाई निगरानी अवधिभर राख्नका लागि एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माणमा लागेको हो ।

‘हामी संघ र प्रदेश सरकारको सहयोगमा आवश्यकतानुसारका आइसोलेसन बनाउँछौं, विभिन्न अस्पतालका चिकित्सक र स्वाथ्यकर्मीलाई राख्ने व्यवस्था गर्छौं।’ –उहाँको भनाइ थियो ।

उपत्यकाका १८ स्थानीय तहले भोगेको साझा समस्याका बारेमा जानकारी गराउँदै उपत्यका मेयर फोरमका अध्यक्षसमेत रहनुभएका मेयर शाक्यले कोरोना रोकथामका लागि सबै प्रकारका काम गर्न तयार रहेको बताउनुभयो । उहाँले महानगरले सबै काम समाप्त गरेपछि मात्र सार्वजनिकरुपमा जानकारी दिने बताउनुभयो ।

यही ३ गते उपत्यका मेयर फोरमले उपत्यकामा ५ सय क्षमता भएको आइसोलेसन स्थापना गर्ने बताउनुभएको थियो । त्यसबेला उहाँले स्थानीय प्रशासनले महामारी नियन्त्रणका लागि जारी गरेको निधेषाज्ञाको स्वागत गर्दै यसको पूर्ण पालनाका लागि नगरबासीलाई अनुरोधसमेत गर्नुभएको थियो ।

अनुरोध गरेको चार दिन बित्न नपाउँदै ३१ वडाका स्थानीयले होस्टलमा बसेका चिकित्सकसहितको टोलीलाई लखेटेको थियो । घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले यस्ता घटना दोहोरिन नदिन महानगरले सबै कदम चाल्ने बताउनुभएको थियो ।