पर्सामा कोरोना संक्रमित थुनुवा अस्पतालबाट फरार

0
Shares

कृष्णउदास खनाल,वीरगन्ज।

कोरोना संक्रमित भई वीरगन्जको कोभिड अस्पतालमा उपचार गराइरहेका २ थुनुवा अस्पतालबाट नै फरार भएका छन्। नारायणी अस्पतालको अस्थायी कोभिड विशेष अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचार गराइरहेका २ थुनुवा अस्पतालबाट गएराती फरार भएका हुन् ।

उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभएको छ । २०–२५ वर्ष उमेर समूहका दुई युवा आइतबार बिहान २ बजे अस्पतालबाटै फरार भएको उहाँले बताउनुभयो । वडा प्रहरी कार्यालय विर्ताको थुनुवा कक्षमा रहेका वीरगन्जको नगुवाका छोटु तिवारी र साविक सर्लाही घर भई हाल वीरगन्जमा नै बस्दै आएका रामु माझी यही साउन १ गते संक्रमित पुष्टि भएका थिए।

त्यही समयदेखि उनीहरुलाई आइसोलेशन हुँदै अस्थायी कोभिड अस्पतालमा नै भर्ना गराएर उपचार सुरु गराइरहेको थियो वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुले बताउनुभयो । त्यही क्रममा उनीहरु त्यहीँबाट फरार भएको र उनीहरुका बिरुद्ध सार्वजनिक मुद्दा चलिरहेको पनि उहाँले बताउनुभयो । फरार युवाहरुको घर लगायत उनीहरु लुक्न सक्ने विभिन्‍न ठाउँमा खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।

यसैबीच पर्सामा एकै दिन थप १ सय ४२ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राती ३ सय २० जनाको स्वाब परीक्षण गर्दा पर्साका मात्रै १ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमका ५ जना संचारकर्मी , नेशनल मेडिकल कलेजका ३ , भवानी अस्पताल र तराई हस्पिटलका १र१ गरी ५ जना डाक्टर र जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवामा संक्रमण भेटिएको हो । यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १ पिपराका १६ जना , वीरगन्ज छपकैयाका १० जना , पर्साकै विन्दवासीनी गाँउपालिकाका ९ जना र पर्सागढी नगरपालिकाका ४ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ ।

वीरगन्ज सिर्सियास्थित सुख्खा बन्दरगाहका २ जनामा पनि संक्रमण भेटिएको छ । थप १ सय ४२ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ३६ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।