भक्तपुर जिल्ला पनि कोरोनाको ‘हटस्पट’ बन्ने खतरा


पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुर जिल्ला पनि कोरोनाको ‘हटस्पट’ बन्ने खतरा बढ्दै गएको छ ।भक्तपुरमा एकै दिन ५० जना कोरोना संक्रमित थपिएका छन् ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए अनुसार संक्रमित मध्य सशस्त्र प्रहरी बलको दुवाकोटस्थित गुहेश्वरी गणमा कार्यरत २० जना रहेका छन् । स्रोतका अनुसार हालै ती २० जना तराईबाट सरुवा भएर आएका थिए ।

अन्य कोरोना संक्रमितमा ८ जना भक्तपुर नगरपालिका, ५ जना सूर्यबिनायक नगरपालिकाका रहेका छन् । १३ जना मध्यपुर थिमि नगरपालिकाका बासिन्दा रहेका छन् ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार संक्रमित मध्ये पुरुषको संख्या ३९ र महिलाको संख्या ११ रहेको छ ।

त्यसैगरी ३ जना पुनः परीक्षण गर्दा पोजेटिभ आएका व्यक्ति हुन् । भक्तपुरमा शनिबार थप १ जनाको मृत्यु भएको हो ।

शनिबार मृत्यु भएका कोरोना संक्रमित पुरुष सुर्यबिनायक नगरपालिका हुन् भने उनको ह्याम्स अस्पताल उपचारको क्रममा मृत्यु भएको हो । योसँगै भक्तपुरमा कोरोनाबाट दुई मृत्यु हुनेको संख्या २ पुगेको छ । यस्तै कुल संक्रमितको संख्या २६८ पुगेको छ ।

जिल्लामा एकै दिन धेरै जनामा संक्रमण देखिएपछि निषेधाज्ञा पालनामा थप कडाई गरिने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
काठमाडौंमा १६० र ललितपुरमा ६ जना संक्रमित थपिएका हुन् ।

यस अघि उपत्यकाका अन्य दुई जिल्ला काठमाडौं र ललितपुरमा संक्रमितको संख्या निकै उच्च भएपनि भक्तपुरमा संक्रमणको दर सामान्य रहँदै आएको थियो । तर पछिल्लो समय दैनिक संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ ।

भक्तपुरमा पनि समुदायस्तरमै संक्रमण फैलिसकेको निष्कर्ष स्वास्थ्य कार्यालयको छ । भक्तपुरमा गएको वैशाख ३० गते पहिलोपटक दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । ती दुवै जिल्ला बाहिरका बासिन्दा थिए ।

भक्तपुर जिल्ला पनि कोरोनाको ‘हटस्पट’ बन्ने खतरा बढ्दै गए पछि जिल्ला प्रशासन ,जिल्ला समन्वय समिति ,४ वटै नगरपालिका र सरोकारवाला सबै मिलेर स्थानीयलाई संक्रमण नियन्त्रणमा थप सचेत र सजग बनाउनुपर्ने आवश्यकता देखिएको छ ।