समुदायमा कला


समुदायमा कलाको अपरिहार्यतालाई आत्मबोधमाथि भएका अभ्यासका बारेमा संवाद गरिएको छ। काठमाडौं विश्वविद्यालय केयू आर्ट एन्ड डिजाइन विभागका पूर्वविद्यार्थीको अल्मुनाइ संस्था ओदानको सातौं शृंखलामा समुदायमा कलाको सहभागितामूलक अभ्यास र पर्यावरणमा बहस गरिएको हो। बहसमा कलाकार सुजन डंगोल, कैलाश के श्रेष्ठ र राजन श्रेष्ठ सहभागी भएका थिए।

भर्चुअल माध्यमबाट गरिएको संवादमा कलाकार सुजन डंगोलले समुदायका कलालाई संरक्षण गर्नका लागि यो अभ्यास निकै प्रभावकारी रहेको बताए। ‘समुदायलाई नै कलाका गतिविधिमा सहभागी गराउँदै बनाइएका कलाले समाजमा गहिरो प्रभाव पारेको हामीले पाएका छौं।’ –उनले भने। काठमाडौं विश्वविद्यालयबाट कला अध्ययन गरेका कलाकार डंगोलले नेपाल तथा विश्वका विभिन्न स्थानमा भएका थुप्रै कला प्रदर्शनी, आवासीय कला कार्यशाला र सामुदायिक कला परियोजनामा भाग लिएका छन्।

अहिले उनले काठमाडौंबाट विस्थापित मूल निवासी र काठमाडौंमा सहरी शरणार्थीसँग दीर्घकालीन परियोजनाका रूपमा काम गरिरहेका छन्। भर्चुअल कार्यक्रममा अर्का कलाकार कैलाश के श्रेष्ठले समुदायलाई कलाप्रति जागरुक बनाउनका लागि पनि यो कला अभ्यासको जरुरी रहेको जिकिर गरे। उनले समाजलाई कलामय बनाउनका निमित्त पनि कलाकारलाई समुदायसँग जोड्नुपर्ने धारणा व्यक्त गरे। ‘कलाप्रति जनविश्वास जगाउन पनि कलाकारले समुदायका विषयलाई समुदायमा प्रस्तुत गर्नुपर्दछ। तब मात्रै यसले आमरूप लिन सक्दछ।’ –उनको भनाइ छ।

त्यस्तै, कार्यक्रममा कलाकार राजन श्रेष्ठले कलाका सबै अवयवलाई संयोजन गरेर समाजसँग जोड्नुपर्नेमा जोड दिए। उनले संगीत तथा कलालाई संयोजन गरी समुदायका विषयलाई उठान गर्नुपर्ने धारणा व्यक्त गरे। उनले समुदाय, पर्यावरण, परम्परा तथा मौलिकतालाई ध्यान दिइ काम गर्दा प्रभावकारी हुने जिकिर गरे।

एथ्नोम्युजिकोलोजी अन्वेषक तथा फजस्केप सहसंस्थापक रहेका राजनले मुख्यतया संगीतमार्फत आफ्नो सिर्जनात्मक अभिव्यक्ति दिँदै आएका छन्। उनी काठमाडौंमा आधारित पोस्ट रक आउटफिट, जिन्दावादका लागि बेसिस्ट र सहनिर्माता समेत रहेका छन्।

काठमाडौं विश्वविद्यालयको संगीत विभागबाट एथ्नो–म्युजिकोलजीमा स्नातक गरेका श्रेष्ठले फाटकाउलीको मोनिकरअन्तर्गत संगीत निर्माण गर्दै आएका छन्। उनले अनासिरको एक हिस्साका रूपमा काम गरेका छन्, जुन पाकिस्तानी इलेक्ट्रोनिक संगीतकार एलियन पान्डा जुरीसँगको एक सहयोगी परियोजना हो।

फजस्केप संगीत, अभिलेख र अडियो भिजुअलको माध्यमबाट कथा कथनमा प्राथमिक ध्यान दिने सांस्कृतिक दस्तावेजको लागि एक मञ्च हो। श्रेष्ठ अहिले इकोज इन द भ्याली नामको ग्रासरूट संगीत महोत्सवसँग पनि आबद्ध छन् कार्यक्रम कलाकार तथा लेखक न्हुज तुलाधरले सहजीकरण गरेका थिए।