प्रदेश सरकारको सहयोगमा पीसीआर प्रयोगशाला

‘समुदायमा संक्रमण फैलिएको छैन’


नेपाल समाचारपत्र, बैतडी
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीमा कोरोना परीक्षणका लागि पीसीआर प्रयोगशाला सञ्चालनको तयारी भएको छ । जिल्ला अस्पतालमा सञ्चालनको तयारी प्रयोगशालाका काम अन्तिम चरणमा पुगेको हो ।

प्रगोगशाला सञ्चालनका लागि आवश्यक पर्ने भौतिक संरचनाको काम ९० प्रतिशतभन्दा बढी भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो । प्रयोगशालाका लागि टाइलिङ, वायरिङ, आल्मोनियम पार्टेसनलगायत गरी ९० प्रतिशत काम सम्पन्न भएको छ । उहाँले भन्नुभयो– ‘भदौ १२÷१३ गतेबाट पीसीआर परीक्षण गर्ने गरी काम धमाधम भइरहेको छ ।’

प्रयोगशालाका लागि गत साउन २१ गते बैतडी भित्रिएको छ’, उहाँले भन्नुभयो– ‘मेसिन जडानको काम पनि थाल्ने तयारीमा छौं ।’

प्रयोगशालामा आवश्यक पर्ने जनशक्ति भर्ना गरिरहेको जिल्ला अस्पताल बैतडीले जनाएको छ । प्रयोगशालाकर्मी आज आइतबार छनोट हुने र त्यसपश्चात् मेसिन जडानको काम हुनेछ’, उहाँले भन्नुभयो– ‘जनशक्ति व्यवस्थापनको काम गरेसंँगै प्रयोगशाला सञ्चालनमा ल्याउँछौंं ।’

प्रयोगशालाका लागि भाइरोलोजिस्ट अथवा क्लिनिकल माइक्रोबाइलोजिस्ट १ जना, बीएमएलटी र सीएमएलटी दुई÷दुई जना छनोट हुने जनाइएको छ । यसका साथै जिल्ला अस्पतालका लागि १ जना एमडीजपी गरेको चिकित्सक पनि आउने भएका छन् । आईसीयू सञ्चालन भएपछि तथा शल्यक्रियाका लागि सहजताका लागि १ एमडीजीपी आउने डाक्टर जोशीले बताउनुभयो ।

प्रदेश सरकारले गत चैत १५ गते बैतडीसहित डोटी र कैलालीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । बैतडीबाहेक अन्य जिल्लामा प्रयोगशाला सञ्चालनमा आइसकेको छ । जिल्लामा प्रयोगशाला नहुँदा कोेरोना परीक्षणको दायरा बढाउन सकिएको छैन । यसका साथै हाल परीक्षणका लागि संकलित स्वाब डडेल्धुरा तथा कैलाली पठाउनुपर्ने बाध्यता रहेको छ ।

प्रयोगशाला स्थापना भए जिल्लामै परीक्षण गर्न सहज हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । ‘हाल स्वाब परीक्षणका लागि बाहिरी जिल्ला पठाउने गर्दा रिपोर्ट समयमै नआउने समस्या रहेको छ ।’

बैतडीमा हाल ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ जनामात्रै सक्रिय संक्रमित रहेका छन् । भारतबाट फर्किएका २ सय २८ जना हाल क्वारेन्टाइनमा बसिरहेका छन् ।

‘समुदायमा संक्रमण फैलिएको छैन’
बैतडीमा समुदायमा कोरोना संक्रमण नफैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितका आफन्तहरुको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएकाले समुदायमा कोरोना नफैलिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

जिल्लाको पाटन नगरपालिकाका ९७, दशरथचन्द नगरपालिकाका १५, मेलौली नगरपालिकाका ३६ र दोगडाकेदार गाउँपालिकाका २७ जना गरी १ सय ७५ जनाको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताउनुभयो । कोरोना संक्रमितका आफन्तहरुको स्वाब संकलन गरिएकोमा सबैको रिपोट नेगेटिभ आएको हो ।