नेकपा कार्यदलले बुझायो प्रतिवदेन

बाँकी कार्यकाल ओलीले सरकार प्रचण्डले पार्टी चलाउने


नेपाल समाचारपत्र, काठमाडौं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान हुने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठन गरेको ६ सदस्यीय कार्यदलले पार्टीको जारी विवाद समाधान गर्नका लागि प्रतिवेदन बुझाएको छ ।

स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि शुरु भएको विवाद करिब दुई महिनापछि समाधान हुनेतर्फ गएको छ । पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले शनिबार प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डलाई कार्यदलका संयोजक महासचिव विष्णु पौडेलले प्रतिवेदन बुझाउनुभएको हो । दुई अध्यक्षको सहमतिमा साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारेर बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

दुई अध्यक्षले पार्टीको विवाद मिलाउन महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल गठन भएको थियो । प्रतिवेदनका आधारमा पार्टीभित्रको विवाद समाधान गरेर सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै एकता महाधिवेशनमा जाने तयारी गरिएको उल्लेख गरिएको छ ।

कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पूर्णरुपमा सरकार चलाउने निचोड निकाल्दै पार्टीको पूर्ण अधिकार प्रचण्डले लिने विषय समावेश भएको छ । तर प्रतिवेदनमा दुवै अध्यक्षमा पार्टी सञ्चालन गरिने पनि उल्लेख गरिएको छ ।

प्रतिवेदनमा मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर गर्ने, प्रधानमन्त्री ओलीले सरकार सञ्चालन एकलौटीरुपमा नगरी पार्टीभित्र छलफल गर्नुपर्ने, पार्टी एकताको काम टुंगोमा पु¥याएर महाधिवेशनको तयारीमा जाने, राजनीतिक नियुक्तिमा पार्टीसँग सहमति हुनुपर्ने, असार १० गतेबाट जारी स्थायी कमिटीको बैठक राखेर सरकार र पार्टीको समीक्षा गर्नुपर्नेलगायत विषय समेटिएको कार्यदलका एक सदस्यले बताए ।

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछोड्न अडान लिएपछि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको नीति र सहमतिअनुसार अघि बढेमा तत्काल दुवै पदबाट राजीनामा दिनुनपर्ने पक्षमा पुगेपछि नेकपाभित्र विवादको सहमति जुटेको हो ।