पैसा तिर्नुपर्ने डरले अपहरणको मुद्दा


काठमाडौं, (नेस)
चार वर्षअघि लिएको ५४ लाख रुपियाँ नतिरी भागेका किसन डगौरालाई पीडितहरुले नियन्त्रणमा लिएका छन् । रकम लिएपछि सम्पर्कविहीन भएका डगौरालाई पीडितहरुले काठमाडौंको डल्लुबाट नियन्त्रणमा लिई ललितपुरको इमाडोल पु¥याएर रकम दिन आग्रह गर्दा उनले प्रहरीलाई फोन गरी आफूलाई ५ जना व्यक्तिले अपहरण गरेको बताएका थिए ।
डगौराले अपहरणको आरोप लगाएपछि प्रहरीले ५ जना पीडितलाई नियन्त्रणमा लिएको छ । डगौराले चार वर्षअघि ५ जनासँग पटकपटक गरी ५४ लाख रुपियाँ लिएर दिएपछि फरार भएका थिए । प्रहरीले अपहरणमा परेका भनिएका डगौरा र अपहरण गर्ने भनिएका ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा ४ वर्षअघि पैंसा लिएर फरार भएका डगौरालाई आफूहरुले इमाडोल ल्याएको बताएका थिए ।
उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले पैसा तिर्नुपर्ने मान्छेले आफू अपहरणमा परेको भनेपछि उनीसहितलाई नियन्त्रणमा लिएर घटनाको बारेमा जानकारी लिँदा डगौराले ठगी गरेको देखिएको बताएको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले डगौरालाई नियन्त्रणमा लिने पीडितहरुको शैली नमिलेकाले उनीहरुको बारेमा पनि अनुसन्धान गरिरहेको बताउनुभयो ।