खाल्डोमा डुबेर दुई बालकको मृत्यु


बैतडी, (नेस)
सडकमा बनाइएको खाल्डोमा डुबेर बैतडीमा सोमबार अपरान्ह दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौंका १४ वर्षीय अंकित लावड र ११ वर्षीय सन्दीप लावड रहेका छन् ।
देहीमाडौं–गिरेगडा सडकखण्डअन्तर्गत सुन्दरखालीमा ह्युमपाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । ह्युमपाइप राख्नका लागि बनाइएका खाल्डोमा वर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार दिउँसो साढे चार बजेतिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको हो । उहाँले भन्नुभयो– ‘खेल्नका लागि सडकमा जम्मा भएका ५÷६ जनामध्ये एक जना पहिला खाल्डोमा गएको रहेछ, उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवै जना खाल्डोमा डुबेका भन्ने खुल्न आएको छ ।’
दुई जना खाल्डोमा डुबेपछि अन्य बालबालिकाले घरपरिवारलाई खबर गरेपछि घटनाका बारेमा थाहा भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीको टोलीले दुवै जनाको शव खाल्डोबाट बाहिर निकालेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । खाल्डोमा दुईजना बालकको डुबेर ज्यान गएपछि प्रहरीले सो खाल्डो तत्काल पुर्न निर्माण व्यवसायीलाई भनेको प्रहरीले बताएको छ ।