सचिवालय बैठकद्वारा कार्यदल अनुमोदन गर्ने निर्णय


काठमाडौं, (नेस)
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदललाई सचिवालय बैठकले अनुमोदन गरेको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधान गर्न गठन गरेको कार्यदललाई सचिवालय बैठकले अनुमोदन गरेको हो ।
कार्यदलले काम थालेपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकबाट अनुमोदन गर्नुपर्ने मागअनुसार सोमबार बसेको बैठकले अनुमोदन गरेको छ ।
अध्यक्षद्वय ओली र प्रचण्डले गठन गरेको महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदललाई सचिवालय बैठकले अनुमोदन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
पार्टीको समस्या समाधानका लागि दुई अध्यक्षले आफ्नो सहयोगका निम्ति कार्यदल गठन गर्न पाउने भए पनि कार्यदललाई अझै उत्साहित ढंगले काम गर्ने बनाउनका लागि यसलाई सचिवालयबाट अनुमोदन गराउनुपर्छ भन्ने मतको आधारमा बैठकले अनुमोदन गरेको श्रेष्ठले बताउनुभयो ।
बैठकले कार्यदललाई शुभकामना दिँदै छिटोभन्दा छिटो आफ्नो प्रतिवदेन पेस गर्ने आशा व्यक्त गरेको छ । प्रवक्ता श्रेष्ठले कार्यदलका लागि समयसीमा नतोकिएको बताउँदै अब कार्यदलबाट प्राप्त सुझावको आधारमा अध्यक्षद्वयले प्रस्तुत गर्ने प्रतिवदेनको प्रतीक्षा रहेको बताउनुभयो ।
कार्यदलले पार्टीको जारी समस्या समाधान गर्न खाकासमेत तयार गरिसकेको बताइएको छ । ‘केही दिनभित्र नै सहमतिको खाका तयार गरेर सचिवालय बैठकमा पेस गर्छौं’, कार्यदलमा सहभागी एक सदस्यले भने– ‘पार्टी एकतालाई थप सुदृढ र एकताबद्ध बनाएर लैजाने गरी खाका ल्याउँछौं ।’