अदालतका सेवाग्राहीको म्याद बढ्याे


काठमाडौं, (नेस)
मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सर्वोच्च अदालतले उपत्यका बाहिरका सेवाग्राहीलाई हदम्याद, म्याद तथा तारेखमा उपस्थित हुने समयावधिलाई लम्ब्याएको छ ।
सर्वोच्च अदालतबाट थाहा भएअनुसार काठमाडौं उपत्यकामा भने गत साउन ८ गतेबाट हदम्याद, म्याद तथा तारेखमा उपस्थित हुने समय ३० दिनको रहेको छ । काठमाडौं उपत्यका आउन कडाइ गरेका कारण र अन्य जिल्लामा पनि त्यस्तै अवस्था रहेका कारण समयावधि लम्ब्याउन आवश्यक भएको सर्वोच्चले जनाएको छ ।
मन्त्रिपरिषद्को गत साउन ५ गतेको निर्णयले यही भदौ १ गतेबाट लामो दूरीको सार्वजनिक यातायात र हवाई सेवासमेत शुरु हुने बताएपछि काठमाडौंबाहेक अन्य जिल्लाका अदालतका सेवाग्राहीको पनि हदम्याद, म्याद तथा तारेखमा उपस्थित हुने अवधि गत साउन ८ गतेबाट नै शुरु भएको थियो ।
मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकले साउन ५ गतेको निर्णयलाई संशोधन गरी सार्वजनिक यातायात र हवाई सेवा यही भदौ १६ गतेदेखि मात्र सञ्चालन गर्ने भनिएपछि सर्वोच्चले पनि अदालतका सेवाग्राहीलाई हदम्याद, म्याद र तारेखका लागि समय दिएको हो ।
यसै गरी सर्वोच्च अदालतमा न्यायाधीश तथा बारका पदाधिकारीबीच सोमबार कोभिड–१९ को अदालतमा परेको प्रभावको बारेमा छलफल भएको थियो । सो अवसरमा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण र महत्वपूर्ण रिट निवेदन दर्ता र त्यसका सुनुवाइ गर्ने बारेमा छलफल भएको बताइएको छ ।
सर्वोच्च बारका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले अदालतबाट मुद्दाको सुनुवाइका लागि एउटा मुद्दामा बढीमा २ जना मात्र कानुन व्यवसायी भए आफूहरुलाई सहज हुने गरी आग्रह गरिएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । अध्यक्ष अधिकारीले कोभिड–१९ को महामारीले गर्दा कानुन व्यवसायीको संख्या पनि कम उपस्थिति भए उपयुक्त हुने भनी अदालतबाट आग्रह गरिएको बताउनुभयो ।
अदालतले दुवै तर्फबाट सुनुवाइ गरी अन्तरिम आदेशको बारेमा निर्णय गर्ने बारेमा यही भदौ १५ गतेपछि राख्ने कि भनेर बारको सुझाव मागेको पनि उल्लेख गरिएको छ ।
यसैबीच सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीश तथा कर्मचारी गरी १ सय ५० भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । सो परीक्षणको नतिजा आज मंगलबारसम्म आउने बताइएको छ ।