प्रहरी फेससिल्डसहित ड्युटीमा


हेटौंडा, (नेस)
बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रत्यक्ष मातहतका प्रहरी सबैले संक्रमण जोखिमलाई कम गर्न फेससिल्ड लगाएर ड्युटी शुरू गरेका छन् । फिल्डमा नियमित ड्युटीमा खटिने प्रहरीले फेससिल्ड लगाएर ड्युटी शुरू गरेका हुन् ।
बाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गत ५ हजार ७ सय ६६ प्रहरीलाई फेससिल्ड उपलब्ध गराएर फिल्डमा ड्युटी गर्दा अनिवार्यरूपमा लगाउने व्यवस्था मिलाइएको हो ।

बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्यरत सबै प्रहरीलाई फेससिल्ड वितरण गरेको हो । सबै प्रहरीमा एकरूपता ल्याउन फेससिल्डमा प्रहरीको लोगो र ‘बाग्मती प्रदेश प्रहरी’ लेखिएको छ । ड्युटीमा खटिने प्रहरी धेरै जनासँग सम्पर्कमा आउनुपर्ने भएकाले प्रहरीलाई संक्रमण हुनबाट जोगाउन र प्रहरीबाट अन्य व्यक्तिमा संक्रमण नफैलियोस् भन्ने उद्देश्यले बाग्मती प्रदेशअन्तर्गत कार्यरत सबै प्रहरीलाई फेससिल्ड उपलब्ध गराइएको हो ।

विभिन्न प्रहरी एकाइमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएकाले संक्रमण थप फैलन नदिन बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामाले हरेक प्रहरीलाई फेससिल्ड उपलब्ध गराएर ड्युटीमा बस्दा मास्क, फेससिल्ड लगाउन निर्देशन दिनुभएको छ ।

प्रहरी कार्यालयमा हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न पक्राउ परेका व्यक्तिका साथै संक्रमण जोखिममा कार्यरत प्रहरीलाई अनिवार्य पीसीआर टेस्ट गर्ने व्यवस्था मिलाइएको छ भने प्रहरीलाई समूहमा विभाजन गरेर बस्ने, खाने र ड्युटी गर्ने व्यवस्था मिलाइएको छ ।

सबै प्रहरी कार्यालयमा स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने, हरेक प्रहरी कार्यालयमा क्वारेन्टाइन बनाउने, अत्यावश्यक कामले कार्यालयबाहिर जाने प्रहरीलाई क्वारेन्टाइनमा बस्नेलगायत सुरक्षा सावधानी अपनाइएको छ ।