संक्रमण फैलदै गए पछि प्रहरीलाई फेस शिल्ड


मोतीराम तिमल्सिना, काभ्रे ।

नागरिकहरुको सुरक्षामा खटिरहेका सुरक्षाकर्मीहरुलाई कोरोना संक्रमण फैलन थाले सँगै नेपाल प्रहरीले बागमती प्रदेश भर कार्यरत प्रहरी कर्मचारीहरुका लागि माक्स सहित फेश शिल्ड प्रयोग गरेर मात्रै कार्यक्षेत्रमा खटिन निर्देशन दिएको छ । जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुले माक्स सहित फेश शिल्ड प्रयोग गरी कार्य क्षेत्रमा खटिएको प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनु भयो ।

जिल्लामा रहेको संघीय प्रहरी इकाई बनेपामा कार्यरत १९ जना प्रहरी कर्मचारी, जिल्लामा कार्यरत एक जना प्रहरी कर्मचारी र संघीय प्रहरी ईकाई कार्यालय बनेपा कार्यरत प्रहरीका परिवारमा पनि कोरोना संक्रमण देखिएको छ । प्रहरीले कार्य क्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई घर परिवारको सम्पर्कमा नजान, गए पनि सुरक्षित रहन, घर विदाबाट फर्किएका प्रहरी कर्मचारीलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्ने गरेको प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले बताउनु भयो । नागरिकहरुको सुरक्षाका लागि नेपाल प्रहरी अग्रपक्तिमा रहँदै आएको छ । प्रहरीले अपनाएको सतर्कताका कारण जिल्ला प्रहरी र मातहतका अन्य प्रहरी कर्मचारीहरुमा कोरोना संक्रमण फैलन पाएको छैन ।

आईतबारसम्म जिल्लामा ७६ जना ब्यक्तिहरु सक्रमित भएका छन् । जस मध्ये ३४ जना घर फर्किसकेका छन् भने ३२ जना उपचारार्थ छन् । ति मध्ये केहि संक्रमित घरमै छन् । संख्याका हिसावले जिल्लामा बैदेशिक रोजगारबाट फर्किनेहरु मध्ये २५ जनामा संक्रमण देखिएको छ । प्रहरी २०, स्वास्थ्यकर्मी ६, जनप्रतिनिधि एक, समुदायमा रहेका अन्य ब्यक्तिहरु २४ जना रहेका छन् ।

७ र १२ बर्षिय बालक पनि संक्रमित भएका छन् भने ९८ बर्षिय जेष्ठ नागरिक पनि संक्रमित छन् । ८६ बर्षिय संक्रमितले कोरोना जितिसकेका छन् । एक स्वास्थ्यकर्मी पनि कोरोना जितेर घर फर्किसकेका छन् । संक्रमण दर फैलिरहँदा जिल्लामा रहेका स्थानीय तहहरुले सेवा बन्द गरेका छन् । अत्यावश्यक सेवा बाहेक अन्य क्षेत्र बन्द भने पनि नागरिकहरुले अवज्ञा गरिरहेका छन् ।

जिल्लामा रहेका दुई अस्पताल शिर र धुलिखेल अस्पताल विरामीका कारण भरिएका छन् । धुलिखेल अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित भए पछि भदौ ३ सम्म आकस्मिक बाहेकको अन्य सेवा बन्द छ । आईसोलेसन बेड भरिएर संक्रमित घरमै बस्न बाध्य भए पछि बनेपा नगरपालिकाले ५० बेडको आईसोलेसन बेड बनाएको छ । जिल्लामा रहेको खानिखोला र चौरीदेउराली गाउँपालिकामा अझै संक्रमण देखिएको छैन ।