पहिरोपीडितलाई राहत


नेपाल समाचारपत्र, गुल्मी

गुल्मीका पहिरोपीडित करिब ३ सय घर–परिवारलाई सामाजिक संघ–संस्थाले राहत वितरण गरिएका छन् । गत असार १८ गतेको पहिरोका कारण विस्थापित भएका परिवारलाई राहत वितरण गरिएको हो ।

पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टको पहलमा सिभिल बैंकले मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाका करिव ३ सय घर–परिवारलाई चामल वितरण गरेको छ । मुसिकोट नगरपालिकामा १ सय ७० बोरा र इस्मा गाउँपालिकामा १ सय २७ बोरा चामल वितरण गरेको थियो ।

गाउँमै पुगेर प्रदेश नं ५ का विशेषाधिकार समिति सभापति कमलराज श्रेष्ठ, सांसद दिनेश पन्थी, बैंकका प्रदेश–५ संयोजक किरण धमलालगायतको टोलीले राहत प्रदान गरिएको हो । पूर्वमन्त्री विष्टले आफ्नो आग्रहलाई स्वीकार गरेर पहिरोपीडित परिवारको दुःखमा साथ दिने सिभिल बैंकलाई आभार प्रकट गर्नुभयो ।

बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत पूर्वमन्त्री विष्टको पहलमा आफूहरूले पहिरोबाट विस्थापित परिवारलाई सहयोग गर्न पाएकोमा धमलाले खुसी व्यक्त गरे । त्यस्तै लायन्स क्लब अफ बुटवल जितगढीले मुसिकोटका पहिरोपीडितका लागि १ सय बोरा चामल प्रदान गरेको छ ।

त्यस्तै मुसिकोट र इस्माका पहिरोपीडितलाई लायन्स क्लब अफ गुल्मी–काठमाडौं, लायन्स क्लब अफ गुल्मी–तम्घास र लायन्स क्लब अफ गुल्मी–रेसुंगाको टोलीले संयुक्तरूपमा सहयोग गरेको छ । टोलीले स्थानीय तहको एकद्वार नीतिअनुसार इस्मा गाउँपालिकामा ४० बोरा चामल, ४० कार्टुन चाउचाउ, ८० किलो दाल, सय किलो नुन र ४० लिटर तेल प्रदान गरेको हो ।

त्यस्तै मुसिकोट नगरपालिका–२ मा पहिरोबाट विस्थापित परिवारलाई ४० थान त्रिपाल वितरण गरिएको थियो । क्लबका डिस्टिक एड्भाइजर युवराज न्यौपाने, संस्थापक अध्यक्ष बालसिंक काउछालगायतको टोलीले सहयोग हस्तान्तरण गरेका थिए ।

अविरल वर्षासँगै गएको पहिरोले गुल्मीको इस्मा गाउँपालिका–१ को मल्दीमा १८ महिनाका र ७ वर्षकी बालिकाको मृत्यु भएको थियो । त्यस्तै, मुसिकोट नगरपालिकाको होटलमा बसेका एक जना पहिरोमा परेर बेपत्ता भएका थिए । पहिरोमा परेर मल्दीमा ४ जना घाइते भएका थिए ।