पहिरोले बस्ती नै जोखिममा


नेपाल समाचारपत्र, बैतडी
लगातारको वर्षाका कारण बैतडीको सिगासमा पहिरो जाँदा २ घर–परिवार विस्थापित भएको छ । सिगास गाउँपालिका ७ न्यौलालीका हरीशचन्द्र अवस्थी र रामबहादुर ऐरको घर–परिवार विस्थापित भएको हो ।
विस्थापित हरीशको परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सिद्धराज अवस्थीले जानकारी दिनुभयो । वर्षाले सिँचाइ कुलो भत्किँदा घरको तलबाट पहिरो गएकाले दुवै परिवारलाई सुरक्षित स्थानमा सारिएको हो । वर्षाकै कारण अरू ७ घर पनि जोखिममा परेका बताइएको छ । यसका साथै लगातारको वर्षाले सोही ठाउँमा रामसिंह ऐरको ३ रोपनी जमिन बगाएको र न्यौलालीमा रहेको नहर पनि बगाएको छ । नहरको १ सय ५० मिटर क्षेत्र बगाएको हो । साथै स्यालाकामा रहेका २ सिँचाइ कुलोको २ सय ३५ मिटर भाग पनि बगाएको अवस्थीको भनाइ रहेको छ । पहिरोले मानवीय क्षति भने नगरेको प्रहरीले जनाएको छ ।
यसैबीच रामसिंह ऐरको जमिन बगेर डडेलखोला थुनिएको अवस्थीले बताउनुभयो । तर, जिल्ला प्रशासन कार्यालयले भने खोला थुनिएको बारे खबर आएको भए पनि हो कि होइन भन्ने यकिन नभएको जनाएको छ । खोला थुनिएको भन्ने खबर आएको भए पनि प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै थाहा हुने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।
प्रहरीको टोली घटनास्थल पुग्न अझै केही समय लाग्ने र थुनिएको भए खोला आसपासका घर–परिवारलाई सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा सारिने बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानाउनुभयो ।