पहिरोपीडितलाई इजरायल घेदुङको सहयोग


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल तामाङ घेदुङ इजरायलले सिन्धुपाल्चोक जुगल लिदी गाउँका पहिरोपीडितलाई नगद सहयोग उपलब्ध गराएको छ ।

इजरायल घेदुङले संस्थागत र व्यक्तिगत समेत गरी संकलन गरेको जम्मा रकम १ लाख २५ हजार ९ सय २० रुपियाँ आइतबार सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोलाई हस्तान्तरण गरिएको घेदुङका महासचिव महितकुमार तामाङले बताउनुभयो ।

कोरोना महामारी र बर्षातले बाटो भत्किएको कारण त्यहाँ पुग्न गाह्रो भएको हुँदा राहत सामग्री लिएर हेलिकोप्टरमार्फत जिल्ला अध्यक्ष स्याङ्बो लिदितर्फ जाने क्रममा उहाँलाई रकम हस्तान्तरण गरी पठाएको महासचिव तामाङले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा घेदुङको उपाध्यक्ष कुमार घिसिङ र कोषाध्यक्ष रुपबहादुर योञ्जनको समेत उपस्थिति रहेको थियो ।

राहत रकम बुझ्दै जिल्ला अध्यक्ष रेशम स्याङ्बोले पीडित परिवारलाई तत्काल ओढ्ने, ओछ्याउने, लगाउने कपडा र घेवा खर्चको अभाव रहेको हुँदा सोको लागि दामासाहीले नगद नै हस्तान्तरण गर्ने बताउनुभयो । उहाँले जिल्ला घेदुङको तर्फबाट गुम्बामा मृतकको सामूहिक घेवा गरिने समेत प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

यसैगरी नेपाल तामाङ घेदुङ इजरायलका अध्यक्ष अनिला मोक्तान तामाङले साउन ३० गतेको पहिरोबाट अकालमा ज्यान गुमाएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले यस घटनाबाट आफूहरु अत्यन्तै दुखित भएको भन्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । मोक्तानले अबका दिनमा यसखालको विपत्ति आउन नदिन नेपाल सरकारले विभिन्न जोखिम क्षेत्रको पहिचान गरी त्यस्तो क्षेत्रमा बसोबास गरिरहेका मानिसलाई यथाशीघ्र सुरक्षित स्थानमा स्थान्तरण तथा पुनःस्थापना गर्न अपिलसमेत गर्नुभएको छ ।