कामपाभित्रै ७ सय ५२ जना कोरोना पोजेटिभ


नेपाल समाचारपत्र, काठमाडौं
साउन २९ गतेसम्म काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखामा प्राप्त विववरणअनुसार कोरोना पोजेटिभ हुने व्यक्तिको संख्या ७ सय ५२ र मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
यस अवधिमा पोजेटिभ देखिएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा भएका १ हजार ५ सय ५४ जनाको कन्ट्र्याक्ट टे«सिङ गरिएको छ । जसमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संख्यामध्येको धेरै साउन १५ पछिको केस हो । कामपा जनस्वास्थ्य महाशाखाका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्नुहुन्छ– ‘यो संख्यामा केही तलमाथि हुन्छ । किनभने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र ठूला अस्पतालको विवरण महानगरमा आएको छैन ।’
‘उहाँहरुले महानगरमा बसोबास गर्नेहरुको परीक्षण र उपचार गर्नुभएको छ । सर्वोच्च अदालत, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका कार्यालयमा परीक्षण गर्नुभएको छ । यसरी गरिएका परीक्षणमध्ये केहीको संख्या महानगरलाई उपलब्ध गराइएको छ भने केहीको संख्या प्राप्त हुन सकेको छैन । यसकारण संख्यामा केही तलमाथि हुन सक्छ’ –ओलीले बताउनुभयो ।
ओलीका अनुसार संक्रमण बढ्दो दरमा रहेकाले पनि संख्या छिनमै तलमाथि हुन सक्छ । अहिलेसम्म हामी साउन २९ गतेसम्म महानगरमा भएका संक्रमितको हाराहारी संख्या मात्र भन्न सक्ने अवस्थामा छौं । हामीलाई करिब २ सय २० व्यक्ति होम आइसोलेसनमा रहनुभएको जानकारी छ ।
उहाँहरुमा स्वास्थ्य जटिलता बढ्दै गए अस्पताल जानुहुन्छ । यसको विवरण महानगरमा आउँदैन । यसकारण होम आइसोलेसनबाट कति विरामी उपचाररत हुनुहुन्छ । उहाँहरुमध्ये कति अस्पताल जानुभयो र निको भएर कतिजना फर्कनुभयो भन्ने तथ्यांक यकिन हुन सकेको छैन ।
प्राप्त विवरणअनुसा सबैभन्दा धेरै संक्रमितको संख्या वडा ४ मा देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणबाट आएका पोजेटिभ केस यही वडामा जोडिएकाले यस वडामा संक्रमितको संख्या धेरै देखिएको हो ।
वडा २ मा अहिलेसम्म कुनै पनि पोजिटिभ केस देखिएको छैन । वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ भन्नुहुन्छ– ‘वडामा प्रचारप्रसार गरेका छौं । खुक्खा खोकी लाग्ने, हनहनी ज्वरो आउनेले खबर गर्नोस् भनेका छौं । अहिलेसम्म कोही पनि मलाई यस्तो भयो भनेर वडामा आउनुभएको पनि छैन । अन्य जँचाएर संक्रमण भएको पनि थाहा छैन ।’
ओलीका अनुसार महानगरमा वडा १ बाट ३७ जना, ३ बाट प्रहरी अस्पतालबाहेक ३४ जना संक्रमितको संख्या दर्ता भएको छ । ४ बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित ६१, ५ बाट १७, ६ बाट १५, ७ र ८ बाट क्रमशः १०÷१० जना संक्रमित देखिएका छन् । वडा ९ मा ५, १० मा ३८, ११ मा १९, १२ मा १२, १३ मा ३३, १४ मा ५६, १५ मा १३, १६ मा ४६, १७ मा १४ जना संक्रमित देखिएका छन् ।
वडा १८, १९, २० र २१ मा १÷२ जना देखिएका छन् भने वडा २२ मा ४ जना देखिएका छन् । वडा २३ मा १०, २४ मा २५, २६ मा १७, २७ मा ३४, २८ मा २७, २९ मा ३०, ३० मा १४, ३१ मा २८ र ३२ मा ५३ जना संक्रमितको संख्या देखिएको छ ।
संक्रमितको पहिचान, उहाँहरुको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहनुभएकाको खोजी र निगरानी गर्ने कामलाई व्यवस्थित बनाउन महानगरले कन्ट्र्याक टे«ेसिङ् कार्यलाई तीव्र बनाएको छ । यसका लागि वडा क्लिनिकका स्वास्थ्यकर्मी र जनप्रतिनिधि खटिएका छन् । संक्रमित देखिएका ठाउँमा वडा कार्यालयहरुले प्रहरीसँग समन्वय गरेर आवतजावत बन्द गरेर निगरानी गरिरहेका छन् ।