मोदीलाई ओलीको शुभकामना  

स्वतन्त्रता दिवसले बोली फुटायो तर विवादमा बोलिएन  


नेपाल समाचारपत्र, काठमाडौं

प्रधानमन्त्री खड्गप्रसाद ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शनिबार टेलिफोनमार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा बधाई दिनुभएको छ । नयाँ नक्सा प्रकरणभन्दा अघिदेखि बन्द भएको बोली शुभकामनाले फुटाए पनि अन्य विषयमा भने दुवैले प्रवेश नगरेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले भारतको ७४औं स्वतन्त्रता दिवसका अवसरमा भारत सरकार र त्यहाँका जनताको प्रगति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको भारतीय विदेश मन्त्रालयस्थित मिडिया सेन्टरले एक विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ ।
टेलिफोन संवादका क्रममा प्रधानमन्त्री ओलीले हालै मात्र संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएकोमा पनि भारतीय समकक्षीलाई बधाई दिनुभएको छ ।

दुवै नेताले कोभिड–१९ महामारीको असर दुवै देशमा न्यूनीकरण गर्ने दिशामा गरिने प्रयासमा द्विपक्षीय ऐक्यबद्धता रहने अभिव्यक्ति दिनुभएको पनि विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री ओलीले यस सन्दर्भमा नेपाललाई भारतको सहयोग जारी राख्न पनि आग्रह गर्नुभएको बताइएको छ ।

प्रधानमन्त्री मोदीले टेलिफोन गर्नुभएकोमा ओलीलाई धन्यवाद दिँदै भारत र नेपालबीच साझा सभ्यता र सांस्कृतिक सम्बन्ध रहेको स्मरण गराउनुभयो ।

नेपालले सार्वजनिक गरेको नयाँ नक्साका कारण उत्पन्न विवाद लिएर दुुई देशका विदेश मन्त्रालयका शीर्ष अधिकारीबीच छिट्टै वार्ता हुने बताइएको छ । नेपालका विदेशमन्त्री प्रदीप ज्ञवालीले एक अन्तरवार्तामा भारत र नेपालबीच सीमा विवाद वार्ताका माध्यमबाट मात्र हल गर्न सकिने बताउनुभएको थियो ।

ज्ञवालीले दुवै देशका अधिकारीहरुबीच अगस्ट १७ मा वार्ता हुने बताउनुभएको तर उक्त वार्ता सीमा विवादसँग सम्बन्धित नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नेपालमा भारतको लगानीमा बनिरहेका परियोजनालाई लिएर काठमाडौंमा उक्त वार्ता हुने बताइएको छ ।

यसैबीच, भारतको ७४औं स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आफ्नो र दूतावासका तर्फबाट नेपालमा बस्दै आइरहेका सबै भारतीय नागरिक, नेपालमा रहेका भारतका मित्र तथा भारत–नेपाल सम्बन्धका हितैषीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

कोभिडको महामारीलाई संयुक्त रुपमा सामना गर्ने रणनीति अख्तियार गर्दै भारतले विश्वका करिब १ सय २३ राष्ट्रसँग चिकित्सासँग सम्बन्धित सामग्री सहयोग आदानप्रदान गरेको उल्लेख गर्दै उहाँले नेपाललाई पनि सहयोग पु¥याएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘गत वर्ष भारत–नेपाल मैत्रीमा उल्लेखनीय प्रगति भयो, जसमा मोतिहारी–अमलेखगन्ज पाइपलाइन, विराटनगर आईसीपीको उद्घाटन, नुवाकोट र गोरखा जिल्लामा लगभग ५० हजार भूकम्प प्रतिरोधी भवन निर्माण, भूकम्पग्रसित हाइस्कुलहरुको पुनर्निर्माण तथा अन्य कैयौं परियोजना सकारात्मक रुपमा सञ्चालनमा छन् ।’

राजदूत क्वात्राले द्विपक्षीय व्यापार तथा लगानीमा पनि राम्रो वृद्धि भएको बताउनुभयो । गत वर्षका उपलब्धिहरुका आधारमा आगामी वर्षमा पनि द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउन सकिनेमा आफू आशावादी रहेको उल्ल्ेख गर्नुभयो ।

राजदूत क्वात्राले भन्नुभयो– ‘कोभिड महामारीले सार्वजनिक स्वास्थ्य विपत्का रुपमा व्याप्त भएको मात्र नभई हाम्रो आर्थिक प्रगति र सम्पन्नतालाई पनि अस्तव्यस्त पारेको छ । तर हामी संकल्पित छौं, समर्पित छौं कि हामी आपसी सहयोगद्वारा यस महामारीमाथि अवस्य विजय पाउनेछौं ।’