समुदायमा कोरोना रोक्न लकडाउन

अत्यावश्यकबाहेकका सबै सेवा बन्द


यमलाल भुसाल, बुटवल
समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि बुटवल उपमहानगरपालिकाले बुटवल क्षेत्रमा लकडाउनको घोषणा गरेको छ भने तिलोत्तमाले अत्यावश्यकबाहेकका सबै सेवा भदौ १० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले नगरक्षेत्रभित्र कोरोना संक्रमण तीव्ररूपमा फैलिइरहेकाले बिहीबार मध्यरातदेखि आउँदो भदौ ५ गते मध्यरातसम्म सम्पूर्ण नगरक्षेत्रलाई लकडाउन गर्ने निर्णय गरेको हो ।
बुधबार प्रदेश–५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुटवल उपमहानगर प्रमुख शिव सुवेदीको अध्यक्षतामा बसेको बुटवल कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेका लागि २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिनुभयो ।
बैठकले लकडाउन अवधिमा अत्यावश्यकीय सेवाअन्तर्गतका स्वास्थ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारीलगायतका सेवाहरू मास्क तथा पन्जा लगाएर र स्यानिटाइजर प्रयोग गरी सञ्चालन गर्न सकिने र यीबाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
बैठकपछि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जारी गरेको सूचनामा लकडाउनको अवधिमा स्वास्थ्य सेवासम्बन्धी सबै कार्य र सोका लागि प्रयोग हुने सवारीसाधन सञ्चालन हुनेछन् भने यसका लागि साथमा परिचयपत्र अनिवार्य गरिएको छ । खाद्य, किराना, र डिपार्टमेन्ट स्टोर, तरकारी, फलफूलको बिक्री–वितरण आवश्यक दूरी कायम गरी बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने र दूध बिहान ७ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म ढुवानी तथा वितरण गर्न पाइनेछ ।
विद्युत्, खानेपानी, वारुणयन्त्र र सरसफाइसम्बन्धी सेवा र सोका लागि प्रयोग हुने सवारीसाधन सञ्चालन गर्न पाइनेछ भने बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरू तालिका बनाई नगरपालिकाको स्वीकृतिमा मात्र दिनको १० बजेदेखि २ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
औद्योगिक तथा निर्माणजन्य कार्यमा संलग्न कर्मचारी तथा श्रमिक सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्न सकिनेछ भने बुटवल क्रस गरेर जाने सवारीसाधन बुटवल उपमहानगरको क्षेत्रभित्र रोक्न पाइने छैन । सामान अनलोड वा अपलोड गर्ने ढुवानीका साधनले सुरक्षा सावधानी अपनाई सुरक्षाकर्मीको रोहवरमा मात्र लोड–अनलोड गर्न पाउने छन् ।
यसैबीच तिलोत्तमा नगरपालिकाले बिहीबारदेखि नै नगरपालिका कार्यालय तथा मातहतका वडा कार्यालयहरूबाट अत्यावश्यकबाहेकका अन्य सेवा प्रवाह नगर्ने भएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस हाल नगरपालिकाको समुदायस्तरमा समेत देखापर्न थालिसकेकाले यसलाई थप फैलिन नदिन तथा यसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न अगामी भदौ १० गतेसम्मको लागि नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा प्रवाह नगर्ने निर्णय गरेको छ ।
यो अवधिमा घरनक्सा, राजस्व, पञ्जीकरण, व्यवसाय÷सहकारी दर्ता एवं नवीकरणसम्बन्धी अत्यावश्यकबाहेकका सबै प्रकारका सिफारिस र शैक्षिक संस्थासम्बन्धी सम्पूर्ण सेवा प्रवाह नगरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी गराउनुभयो ।