सवारीसाधन किन्न ६ अर्ब खर्च गर्ने तयारी गरेको सरकारसँग भेन्टिलेटर किन्ने बजेट छैन्

0
Shares

काठमाडौं । सरकारले यस वर्ष सवा ६ अर्ब खर्च गर्ने तयारी गरेको छ । गत वर्ष सवारीसाधनमा साढे पाँच अर्ब खर्च गरेको थियाे ।तर, कोरोना महामारीमा संक्रमितको उपचारका लागि भेन्टिलेटरका लागि दाताहरूसँग हात थाप्ने काम गरिरहेको छ । सात महिनामा विभिन्न अस्पतालमा ८० भेन्टिलेटर थपिएका छन् । तर, ती सरकारले किनेका होइनन्, सबै दाताले दिएका हुन् ।

संक्रमितको उपचारका लागि एक सय २० आइसियू बेड थप्ने घोषणा र किन्न भने कुनै चासो देखाएको छैन ।  स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाका एक अधिकारीले भने, ‘भेन्टिलेटर किनिएको छैन, प्रक्रिया पनि छैन, यो विषयमा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ । तर त्यस्तो निर्णय गरेको जानकारी आएको छैन ।’

प्रवक्ता जागेश्वर गौतमले भेन्टिलेटर किनेको विषय जानकारीमा नभएकाे एक वाक्य मात्र प्रतिक्रिया दिए ।  मन्त्रालयका अनुसार टु दी फाउन्डेसनले ३०, निक साइमन फाउन्डेसनले २४, चौधरी फाउन्डेसनले आठ, सानोपाइला संस्थाले ६ र वान हार्टले दुई भेन्टिलेटर सहयोग गरेका छन् ।

त्यस्तै, भारतले नेपाली सेनालाई १० भेन्टिलेटर उपलब्ध गराएको छ । मन्त्रालयको तथ्यांकअनुसार देशभरका अस्पतालमा एक हजार आठ सय आठ आइसियू र एक हजार ७० भेन्टिलेटर छन् ।

तीमध्ये कोरोना संक्रमितको उपचारका लागि चार सय ५० आइसियू र एक सय ६४ भेन्टिलेटर छुट्याइएको छ । प्रदेश १ मा ३४, प्रदेश २ मा १७, बागमतीमा ५३, गण्डकीमा १६, प्रदेश ५ मा २८, कर्णालीमा १० र सुदूरपश्चिमका अस्पतालमा ६ भेन्टिलेटर छन् ।

त्यस्तै, प्रदेश १ मा एक सय दश, प्रदेश २ मा ४६, वागमतीमा एक सय ७०, गण्डकीमा १५, प्रदेश ५ मा ७७, कर्णालीमा १७ र सुदूरपश्चिमका अस्पतालमा १५ आइसियू बेड रहेको मन्त्रालयले जनाएको छ ।

यसबीचमा सरकारले पाटन अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २०–२० गरेर एक सय २० आइसियू बेड थप्ने घोषणा गरेको थियो ।

त्यसका लागि प्रतिअस्पताल १२ करोड ५० लाखका दरले रकम निकासा गरिएको स्वास्थ्य मन्त्रालयको दाबी छ । तर, टेकु अस्पतालबाहेक अन्यत्र आइसियू थपिएका छैनन् । न वीर अस्पतालले आइसियू खरिदको प्रक्रियासमेत अघि बढाइएको छ ।

पाटन अस्पतालले चलाखी गर्दै पुरानै बेडलाई व्यवस्थापन गरी २१ वटा आइसियू बेड कोरोना संक्रमितका लागि तयार गरेको छ । सरकारले भनेअनुसार नै आइसियू बेड तयार भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले दाबी गरे । अन्य अस्पतालले पनि नयाँ उपकरण ल्याएर सेटअप गरेको जानकारी नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।