विभाजनको डिलमा नेकपा

0
Shares

काठमाडौं, (नेस)

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र विगत डेढ महिनादेखि जारी विवाद समाधान हुन नसक्ने दिशामा पुगेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आ–आफ्नै अडान कायमै रहँदा पार्टी विघटन हुन सक्नेसम्मको तयारी नेकपाभित्र बुरु भएको हो ।

पार्टी अध्यक्षद्वय ओली–प्रचण्डबीच वार्ता जारी रहेकै बेला बुधबार अध्यक्ष प्रचण्ड वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको कार्यशैलीमा सुधार नआएको निष्कर्ष निकालेका थिए ।

चार शीर्ष नेताले पार्टी अध्यक्ष ओलीमाथि कडा रुपमा टिप्पणी गरे पनि जारी विवाद समाधान गर्न शुरु भएको ओली–प्रचण्डको वार्ता नै अन्योलमा परेको छ । बुधबारका लागि तय भएको दुई अध्यक्षको वार्ता बिहीबारलाई तय भए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले चासो नदिएपछि रोकिएको छ ।

चार नेताले आफू निकट पत्रकारहरुलाई बोलाएर ओलीको कार्यशैलीमा परिवर्तन नआएको र बारम्बार रुपान्तरणका लागि कोसिस गर्दा पनि असफल भएको अभिव्यक्तिसहित सहमति नभएको अवस्थामा बहुमतिय ढंगबाट भए पनि निर्णय गरेर अगाडि बढ्ने निष्कर्ष निकालेका थिए ।

चार नेताको अभिव्यक्तिलाई लिएर ओली पक्षका नेताहरु कडा प्रतिवादमा लागेका छन् । बिहीबार बिहान ९ बजेका लागि तय भएको वार्ता ओलीले स्थगित गरे पनि ओलीको सन्देश लिएर नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ अध्यक्ष प्रचण्डलाई भेटनमा खुमलटार पुग्नुभएको थियो ।

भेटमा नेता नेम्वाङले बुधबार चार नेताले दिएको अभिव्यक्तिले सकारात्मक सन्देश नगएको भन्दै प्रचण्डसँग असन्तुष्टि जनाउनुभएको थियो ।

आफू दुई अध्यक्षबीच पुनः छलफल गराउन प्रयासरत रहेको बताउँदै नेम्वाङले सहमतिको विकल्प नभएको बताउनुभयो ।

भेटमा प्रचण्डले पार्टी विभाजनको डिलमा रहेको भन्दै ओली लचिलो नहुने हो भने पार्टीको बहुमत पक्षले विधानअनुसार अघि बढ्नुपर्ने चेतावनी दिएर पठाएको स्रोतको दाबी छ । नेम्वाङले भने महाधिवेशनसम्म दुई अध्यक्षको सहमतिबाट अघि बढ्नुको विकल्प नरहेको र त्यसो भन्दा दायाँबायाँ गरिए एकता भंग हुने र मुलुक नै संकटमा पर्ने बताउनुभयो ।

आइतबारदेखि लगातार तीन दिन ओली र प्रचण्डबीच संवाद भए पनि नेकपामा उत्पन्न गतिरोधको निकास निस्किन नसकेपछि प्रचण्ड पक्षका चार जना नेतासहित ओलीको कार्यशैलीको विरोध जनाएका थिए ।