कोरोनाको ‘हटस्पट’ बन्दै वीरगन्ज : सांसददेखि स्थानीय जनप्रतिनिधिसम्म संक्रमणको चपेटामा

0
Shares

कृष्णउदास खनाल,वीरगन्ज ।

मध्य मधेशको आर्थिक नगरी समेत रहेको वीरगन्जमा पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ । पर्सामा बिहीबार मात्रै नेपाली सेना, डाक्टर, बैंकका कर्मचारीसहित थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिला र ३७ पुरुष गरी थप ४३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

बिहीबार संक्रमण पुष्टि हुनेमा वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका ५ र वीरगन्ज कारागारमा कार्यरत ७ गरी १२ जना छन् । वीरगन्जकै नेपाल इन्भेस्टमेन्ट बैंकमा कार्यरत २८ बर्षका एक पुरुष कर्मचारी र नारायणी अस्पतालमा उपचाररत मृगौला रोगी वीरगन्ज –१० की ३५ बर्षिया महिला पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ७ वर्ष देखि ७३ वर्षसम्मका २४ जना, पर्सा जिल्लाको पकहामैनपुर गाँउपालिका २ का २७ बर्षिय एक पुरुष , पोखरिया नगरपालिका ६ का ३३ बर्षिक एक पुरुष र वीरगन्जस्थित भारतीय महावाणिज्य दुतावासमा कार्यरत ३० बर्षिय एक पुरुषसमेतमा संक्रमण पुष्टि भएको हो।

त्यस्तै बाराको देवताल गाँउपालिका घर भएका ३३ बर्षका एक पुरुष, बाराकै प्रसौनी २ घर भएकी ७३ बर्षिया एक वृद्घा , रौतहट मौलापुरका २७ वर्षीय एक पुरुष र महोत्तरी जिल्ला घर भएका ३७ बर्षका एक चिकित्सकमा पनि संक्रमण पु्ष्टि भएको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिनुभयो ।

नयाँ संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या ७६२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले जानकारी दिनुभयो । साउन यता मात्रै ५९९ संंक्रमित थपिएको उहाँले बताउनुभयो । पर्सामा कोरोना संक्रमणका कारण अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ। साउनमा मात्रै पर्सामा १३ जनाको मृत्यु भएको हो। बिहीबार मात्रै पर्सामा थप दुईजनाको मृत्यु भउको छ । एकजना युवती र एक पुरुषको मृत्यु भएको हो । उनीहरुको कोरोना परिक्षणको रिपोर्ट भने आउन बांकी छ ।

पर्सामा सांसद,पत्रकार,जनप्रतिनिधि,नगरप्रमुख,सुरक्षा निकाय लगायत सबैमा संक्रमण भएको छ । पर्सामा अझै एकसय भन्दा बढी सकृय संक्रमित उपचारमा रहेका छन् । स्थानीय सरकार समेत कोरोनाका कारण थला परेपछि पर्सावासीले सरकार बिहिनको महसुस गरेका छन् । केही जनप्रतिनिधिलाई समेत कोरोना भएपछि लगभग सबै वडा अध्यक्ष सहित मुख्य मंत्री समेत क्वारेन्टीमा रहेको बुझिएको छ ।