ध्यान केन्द्र निर्माणमा राज्यमन्त्रीको ध्यान

0
Shares

न्युज अफ नेपाल,ललितपुर

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ललितपुरको नख्खुमा मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणको लागि सरकारले यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ध्यान केन्द्रको अवलोकन गर्न विहीबार नख्खु आउनुभएका राज्यमन्त्री मानन्धरले असल नागरिक बनाउन ध्यानको महत्वपूर्ण भूमिका रहेको धारणा राख्दै भन्नुभयो ‘ध्यानले मानिसले आफैले आफैलाई चिन्ने र आफ्नो मनलाई नियन्त्रण गर्न सकिन्छ । यस्तो अभ्यासलाई व्यापक बनाउन बनाउन लागिएको भवन निर्माणको लागि राज्यले यथोचित सहयोग गर्ने छ ।’ राज्यमन्त्री मानन्धरले विहारको निर्माणको प्रस्तावना मन्त्रालयमा पेश गर्न आग्रह गर्दै त्यसपछि सरकारले गर्ने सहयोगको लागि गृहकार्य अघि बढाउने बताउनुभयो ।

सो अवसरमा केन्द्रका अध्यक्ष रामकाजी अवालेले बहुजन हिताय र बहुजन सुखायको लक्ष्य राखेर ध्यान केन्द्रको भवन बनाउन लागिएकोले त्यसलाई पूर्णता दिन सरकारबाट महत्वपूर्ण सहयोग उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । ललितपुरको विविध क्षेत्रमा क्रियाशील रहेर आफ्नो योग्यता प्रमाणित गरिसकेको व्यक्तिहरु कार्यसमितिमा रहेको उल्लेख गर्दै अध्यक्ष अवालेले चालू आर्थिक वर्षमा ध्यान केन्द्रको लागि एउटा ब्लकं बनाई छाड्ने बताउनुभयो ।

छलफलका क्रममा केन्द्रका उपाध्यक्ष अजरमान जोशीले भवन निर्माणको प्राविधिक पक्षबारे जानकारी दिँदै केन्द्रको तीन वटा ब्लक बनाउन तीन करोड रुपैयाँ लागत अनुमान गरेकोमा एउटा भवन संघीय सरकारको तर्फबाट बनाईदिन आग्रह गर्नुभयो । बुद्ध जन्ममूभी नेपालमा बुद्धको ध्यान र ज्ञानको अभ्यास गराउने केन्द्रको निर्माणले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा उँचो हुने पनि उपाध्यक्ष जोशीको भनाई रहेको छ ।

सो अवसरमा केन्दका महासचिव सुनील महर्जनले विहारको निर्माणको पृष्ठभूमी र कोषाध्यक्ष रामकृष्ण महर्जनले नख्खुखोला नजिक करिडोर निर्माणमा देखापरेका समस्या बारे मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।म्यानमारका प्रसिद्ध ध्यान गुरु भिक्षु प्रज्ञाश्रीको ध्यान र ज्ञान अध्यास गर्ने क्रममा र स्वर्गीय दोलेन्द्ररत्न शाक्यको नियमित धर्मचर्चाबाट प्रभावित भएर पूर्णचण्डी निवासी दशलाल डंगोल उहाँकी श्रीमती राममाया महर्जनले तीन वर्ष अघि १ रोपनी १ आना जग्गा दान दिनुभएको थियो ।