गुणस्तरहीन कालोपत्रे गर्नेलाई फेरि ठेक्का


लीला सुनुवार, ओखलढुंगा
९ महिनाअघि बिछ्याएको कालोपत्रे उप्किएपछि ठेकेदार कम्पनीलाई कारबाही गर्नुको साटो त्यही कम्पनीलाई पुनः कालोपत्रे गर्न जिम्मा दिइएको छ । ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडकमा बिछ्याइएको डीबीएसटी कालोपत्रे कामै नलाग्ने गरेर उप्किएपछि डोजर लगाएर भत्काउन थालिएको हो ।
एसियाली विकास बैंक र स्विस सरकारको सहयोगमा २० करोड ६८ लाख लागतमा आपत्कालीन भूकम्पीय सहयोग परियोजनाअन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ओखलढुंगामार्फत सञ्चालित रमाइलोडाँडा–रुम्जाटार सडकको अधिकांश भागको कालोपत्रे बिच्छ्याउनेवित्तिकै उप्किएको थियो ।
कालोपत्रे उप्किएपछि कार्यालयले ठेकेदार कम्पनीलाई पुनः कालोपत्रेको काम थाल्न निर्देशन दिएको छ । कार्यालयको निर्देशनसँगै ठेकेदार कम्पनीले पुनः कालोपत्रेको काम गर्न सिस्नेखोला, वर्णालु, सानीटारलगायतका खण्डमा डोजर लगाएर उप्किएको कालोपत्रे हटाउन थालेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वधार कार्यालयका इन्जिनियर सरोज केसीले बताउनुभयो ।
१८ महिनामै सक्ने गरी २०७४ सालमा काम थालिएको भए पनि यो सडकमा ठेकेदार कम्पनीले विभिन्न बहाना बनाएर ढिलाइ गरेको थियो । यो सडकको केही अप्ठ्यारा भागमा कालोपत्रे गरिएकै थिएन । कालोपत्रे गरिएको भनिएको सडकका केही भागमा हिलैहिलो जमेको छ । सडकमा ठेकेदारको लापरबाहीका कारण डीबीएसटी कालोपत्रेको काम गुणस्तरहीन भएको स्थानीयको आरोप छ ।
कार्यालयले भने भारी वर्षा, डीबीएसटी नटिक्ने माटो र भूगोलका कारण डीबीएसटी कालोपत्रे उप्किएको जनाएको छ ।