अख्तियारका प्रहरी टोलीलाई कोरोना संक्रमण


नेपाल समाचारपत्र, काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जना कर्मचारी कोराना भाइरसबाट संक्रमण भएका भेटिएको छ । अख्तियारबाट प्राप्त जानकारीअनुसार अख्तियारमा कार्यरत कर्मचारीमध्ये १५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । कोरोना भाइरस पोजेटिभ आउनेमा बढी मात्रामा प्रहरी तथा सवारीचालक रहेका बताइएको छ ।

केही दिनअघि मात्र अख्तियारमा कार्यरत झन्डै २ सय कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । १५ जना कर्मचारीको रिपोर्ट पोेजेटिभ आएपछि अख्तियारमा हल्लाखल्ला मच्चिएको त्यहाँ कार्यरत एक कर्मचारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

कोरोना भाइरस पोजेटिभ भेटिएका प्रहरीहरु विशेष गरी भ्रष्टाचारमा आशंकित भएका ब्यक्तिहरुलाई पक्राउ गर्न जाने तथा बयान लिने कार्यमा सम्मिलित हुने गरेका थिए । उनीहरु विशेष अप्रेसन टोलीमा सहभागी हुने गर्दथे ।
यसै गरी सर्वोच्च अदालतका केही कर्मचारीको पनि पीसीआर परीक्षण गरिएको छ । उनीहरुको केही दिनमा रिपोर्ट आउने बताइएको छ । यसअघि कोरोना भाइरसबाट केही ट्राफिक प्रहरी संक्रमित भएपछि सम्बन्धित कार्यालय सिल गरिएको थियो ।

अख्तियारका कर्मचारीहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि सो कार्यालय पनि सिल गरिनुपर्ने आवाज उठिरहेको छ । अख्तियारका एक कर्मचारीले पूरै कार्यालय सिल गर्नुपर्ने गरी केही कर्मचारीले आवाज उठाएका जानकारी दिए । कोरोना भाइरस संक्रमण भएका अख्तियारका कर्मचारीका परिवार तथा उनीहरुसँग सम्पर्कमा आएकाको पनि परीक्षण गर्नका लागि तयारी भइरहेको बताइएको छ ।